इतिहासमा कसैले नगरेको काम मैले गरेको छु : मन्त्री मोदी (भिडिओ)

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकारले गरेका केही कमीकमजोरीलाई लिएर संयीताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै सङ्घीय मामिला मन्त्री मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने सिलसिलामा भएका कमजोरीले संघियता कमजोर नहुने बताएका हुन् ।
व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वाभाविक रहेको मन्त्री मोदीले बताए । केही व्यक्ति र समूह संगठित रूपमा साना साना कमजोरीलाई देखाएर व्यवस्था कमजोर बनाउन लागि परेको पनि बताए । पछिल्लो समयमा केही राजनैतिक पूर्वाग्रह राख्ने व्यक्तिहरूले प्रधानमन्त्रीलाई पनि मुछ्ने प्रयास गरेको उनले बताए । स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भइसकेकोले विगतको अनुभव र कमजोरीहरू अहिलेको लागि मार्गदर्शक हुनेहुँदा नकारात्मक टिप्पणी नगर्न उनको आग्रह छ ।
कार्यक्रममा संघीय मामिला मन्त्री मोदीले धेरै ठुलो दबाबको सामना गरेर काम गर्नु परेको बताए । काठमाडौँ उपत्यकाभित्र वर्षौँदेखि बसिरहेका (मन्त्रीको भाषामा अखडा जमाएर बसेका) कर्मचारीहरूलाई उपत्यका बाहिर पठाएको उनले जिकिर गरे । काठमाडौँ उपत्यका बाहिर कहिल्यै नगएकाहरू अहिले बाहिर जानु परेपछि फर्किन निरन्तर दबाब दिइरहेको उनले बताए । मन्त्री मोदीले इतिहासमा कसैले नगरेको काम आफूले गरेको ठोकुवा गरे ।
उनले नेपालमा कार्यान्वयनको चरणमा रहेको संघीय शासन व्यवस्था बिस्तारै स्थिर र स्थायित्व हुँदै गएको बताए । यसलाई सबैले मिलेर सहयोग गर्न आग्रह गरे । संघीयता कार्यान्वयन र अभ्यासको पहिलो पाँच वर्ष संक्रमणकाल जस्तै भएकोले उल्लेख्य केही ‘नदेखिएको भए पनि केही नै नभएको भन्न नहुने मन्त्री मोदीले बताए । अहिले धेरै क्षेत्रमा नवीन र उदाहरणीय काम सुरु भएको र संघीयता कार्यान्वयनको अबको दोस्रो चरण पहिलोभन्दा परिवर्तनकारी, अर्थपूर्ण रहने उनको भनाई छ ।








