कोशी अस्पतालको सटरमा व्यवसायी र संस्थाको रजाइँ, करोडौँ आम्दानी गुमाउँदै अस्पताल

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालको भवन तथा भौतिक संरचनाको भाडामा मनोमानी गरेको पाइएको छ । सरकारी संस्थाको रकम विभिन्न संस्थाले अपचलन गरेको पाइएको हो । कोशी अस्पतालको सहमति बेगर अनधिकृत रूपमा प्रयोगमा ल्याइएको जग्गा खाली गर्न अस्पताल प्रशासनले पटक पटक पत्राचार गर्दा पनि राजनीति शक्तिको आडमा ती जग्गा खाली भएका छैनन् ।

वैशाख ६ गते कोशी अस्पतालको सम्झौता बेगर संरचना भाडामा लगाएको थियो । अस्पतालको स्वामित्वमा रहेका ती सबै जग्गा खाली गर्न पत्राचार गरेको भए पनि अहिलेसम्म खाली गरिएको छैन ।

गणेश मन्दिर, क्षयरोग निवारण केन्द्र, देवकोटा पुस्तकालय र रेडक्रसको नाममा अस्पतालको संरचनाको रकम उठाएर अनधिकृत रूपमा भोग चलन गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र स्थापनाको लागि संरचना उपभोग गर्दै आएकोमा त्यही भवनमा रेडक्रसले राष्ट्रिय वाणिज्य बैङ्कबाट मासिक ८० हजार भन्दा बढी भाडा असुल्दै आएको छ । अनधिकृत रूपमा संस्थालाई देखाएर ती अस्पतालको सटरको भाडामा सङ्घ संस्था ठेकेदार बनेका छन् । तिनै संस्थाले मनपरी रकम असुली गर्दै आएका छन् ।

गणेश मन्दिरको नाममा ५ वटा सटरको भाडा लाखौँ रुपैयाँ रकम मासिक कसले उठाउँछ त्यसको आम्दानी कोशी अस्पतालले उपभोग गर्न पाएको छैन । गणेश मन्दिरले बालबालिका क्लिनिकसँग मासिक ७० हजार रुपैयाँ असुल्दै आएको छ ।

मन्दिर समितिले गणपति पत्रपत्रिका पसल, उज्ज्वल फर्मा, कलश फर्मा, किसान जनरल स्टोर र श्रुति फार्मेसीबाट सटर भाडाको रकम असुलेको अस्पताल प्रशासनको दाबी छ ।

एउटा सटरको भाडा न्यूनतम २६ हजार २५० देखि ५२ हजार र अधिकतम ७० हजार रुपैयाँसम्म उठाउँदै आएको पाइएको छ ।

क्षयरोग निवारण केन्द्रले ८ वटा सटरको भाडा उठाएर आफैँले चलाउँदै आएको छ। क्षयरोग निवारण केन्द्रको अध्यक्ष विराटनगरका व्यवसायी शिव प्रधान हुन् । क्षयरोग निवारण केन्द्रमार्फत श्रेष्ठ खाजा घरबाट ५० हजार, मदिना होटेल खाजा घरबाट ४४ हजार, पशुपति किराना पसलबाट २० हजार, खुुश्वु खाजा घरबाट १५ हजार, सहिम मोटरसाइकल रिपेयरिङ सेन्टरबाट ९ हजार, मोनिका फार्मेसीबाट ५ हजार र न्यु बाबा होटेलबाट मासिक १२ हजारका दरले भाडा असुल्दै आएको छ ।

कोशी अस्पताल मातहतमा रहेको क्षयरोग निवारण केन्द्रले समेत मासिक लाखौँ रकम सरकारी आम्दानी नोक्सान गरेको छ । देवकोटा पुस्तकालयलेसमेत सरकारी रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ । सरकारी जग्गामा बसेर रजगज गरेको देवकोटा पुस्तकालयले न कोशी अस्पताललाई भाडा तिर्छ न अरूबाट उठाएको भाडा नै बुझाउँछ, सरकारी सम्पत्तिको अनधिकृत रूपमा प्रयोग गर्दै आएको आरोप लागेको छ । देवकोटा पुस्तकालयले १० वटा कोशी अस्पतालको सटर भाडाको रकम अपचलन गरेको देखिएको छ ।

विराटनगरको मुटुमा रहेको सटरको भाडा २५ सय देखाइएको छ भने कतिपयको भाडासमेत गुपचुप पारिएको छ । देवकोटा पुस्तकालयले पान पसल, देवकोटा होटेल, सुपर सङ्गीत आर्ट, मःम पसल, देवकोटा हेयर कटिङ सैलुन, किराना पसल, ए–वान हेयर कटिङ सैलुन, भट्टराई पान पसल, खिलेश्वर ट्रेड सप्लायर्स र शक्तिमाता हार्डवेयरलाई भाडा लगाएको छ । यति धेरै सटरबाट मासिक लाखौँ असुली गर्दै आएको पुस्तकालयले अहिलेसम्म आम्दानी कोशी अस्पताललाई नबुझाएको अस्पताल प्रशासनले जनाएको छ ।

त्यस्तै रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको भवनमा राष्ट्रिय वाणिज्य बैङ्क, मिना मेडिकल हल, कोशी फोटो स्टुडियो, न्यु त्रिवेणी फोटो स्टुडियो, तरकारी पसल र किराना पसलहरू सञ्चालनका लागि कोशी अस्पतालको सम्पत्ति भाडामा लगाएर लाखौँ असुली गर्दै आएका छन् ।

तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईको पालादेखि यी सटर लिएका व्यवसायी तथा सम्बन्धित संस्थालाई हटाउने प्रयास हुँदै आएको भए पनि त्यो सफल नभएको उनले बताए ।

पत्राचार गरेर अस्पतालको सम्पत्ति स्वामित्वमा ल्याएर आन्तरिक आम्दानी वृद्धि गर्न लागिएको भए पनि त्यो राजनीतिक दबाबको कारण सफल नभए पनि अहिले बिस्तारै प्रक्रियामा ल्याउने काम भइरहेको भट्टराईले बताए ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्र भाल झाले अदालतको फैसलाअनुसार अघि बढ्ने तयारी रहेको बताए । अदालतले हाम्रो पक्षमा फैसला गरेको छ, यसअघिको समितिले ती विभिन्न सङ्घ संस्थाले उठाउँदै आएको भाडालाई अस्पतालले आफ्नो स्वामित्वमा ल्याउने अन्तिम प्रयास गरेको झाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *