चुनावमा मलाई सिध्याउन पार्टी भित्रकै मान्छे लागेः विनोद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताएका छन् ।
आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै मान्छेहरू लागि परेका बताएका हुन । उनले पार्टीको उम्मेदवारलाई जिताउन सबै एक ठाउँमा उभिएर सहयोग गर्नुका साटो कसरी सिद्ध्याउने भनेर लागेका बताए । उनले विरोधीलाई जिताउनका लागि पार्टी भित्रकै मान्छेहरू लागि परेको भन्दै आफूले प्रमाणसहित अनुशासन आयोगमा पेस गरेको बताए । आफ्नै उम्मेदवारलाई हराउन लाग्ने संस्कारको अन्त्य गर्न सकिएन भने आगामी दिनमा पार्टीलाई अझ असर पर्दै जाने उनको भनाई छ ।
उनले भने ‘निर्वाचनको क्रममा टिकट पाउने बित्तिकै समग्र पार्टी, पार्टीका स्थानीय नेतागण, विभिन्न टिकटका प्रत्याशी सबैले पार्टीको संरचना, पार्टीको संस्कार, पार्टीको चरित्र बमोजिम एक ठाउँमा उभिएलान् । सहयोग गर्लान् भन्नुको साटो कसरी अब यसलाई सिद्ध्याउने हो भन्नेमा लागेको मेरो अनुभूति भयो । मलाई लाग्छ धेरैले यस्तो अनुभूति गरेको हुनुपर्छ । खाली निर्वाचनमा हराउने मात्र होइन, विरोधीलाई कसरी जिताउने भन्नेसम्ममा लागेका प्रत्यक्ष प्रमाणहरू सार्वजनिक छन् । त्यसलाई पार्टीको अनुशासन निकायमा राखिएको छ । यदि पार्टीलाई, पार्टीको सिस्टमलाई, आफ्ना आन्तरिक विवाद र फरकका बाबजुद पनि आफ्ना आकांक्षा पुरा नहुँदा पनि एउटै सुत्रमा बाँध्न सकिएन भने भोलिका दिनमा पनि, जुन प्रकारको परिस्थिति बन्दैछ आगामी दिनहरूमा, नामै नसुनेका मान्छेहरू, मेरो आफ्नै क्षेत्रमा पनि मैले दशौँ हजारको भोट पाएका मान्छेहरू समेत फेस गरेँ । यो गम्भीर समस्या हो । पार्टीले यो संस्कारको विकास गर्नै पर्दछ र त्यस्ता मानसिकता बोकेका मान्छेहरूलाई पन्छाउनै पर्दछ ।’
उनले नयाँ राजनीतिक दलहरूले जस्तै पार्टीलाई प्रविधिमैत्री बनाउनुपर्ने र जनताको मुद्दाहरू उठाउनुपर्ने बताए ।








