अध्ययन र बुझाईको दायरालाई नेपाल प्रहरीले बृहत् बनाउन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत् बनाउन जरुरी रहेको बताएका छन् ।

सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरूलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत् बनाउनुपर्ने आवश्यकता रहेको उनको तर्क थियो । शुक्रवार काठमाडौँमा वरिष्ठ प्रहरी उपरीक्षक डा। मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपाल: अ ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलीकेशन’को विमोचन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले अवको जमानामा लटठी, बन्दुक बोकेर गरिने डूयटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पारे ।

उनले द्वन्द्वपछिको सङ्क्रमणकालीन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि वरिष्ठ प्रहरी उपरीक्षक केसीद्वारा लिखित सो पुस्तक उपयोगी हुने विश्वास समेत व्यक्त गरे । प्रहरी महानिरीक्षक कुँवरले सो पुस्तकको अनुकरण र अनुसरणबाट नेपाल प्रहरीको विकास र रूपान्तरणका लागि कोशेढुंगा साबित हुने बताए ।

उनले भने ‘आफ्नो स्थापना कालदेखि हालसम्म नेपाल प्रहरी यो देशका हरेक सङ्घर्ष र परिवर्तनको साँची रहेको छ । यी परिवर्तनहरूले हामीलाई के सिकाएको छ भने प्रहरीले समाज र समयको ढुकढुकी बुझ्न जरुरी छ । अवको जमानामा लटठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र प्रहरीले जस पाउन सक्दैन । सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्नुपर्ने भएकोले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नु पर्छ । त्यसका लागि आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत् बनाउन जरुरी छ । विशेषतः द्वन्द्व उप्रान्त सङ्क्रमणकालीन समाजमा नेपाल प्रहरी लगायतका सुरक्षा निकायले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सामना गर्नु परिरहेको अप्ठ्यारोको सामना र समाधान गर्दै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन कुनै पनि समस्या र विषयवस्तुलाई केवल सुरक्षाको निकायको दृष्टिकोणले मात्र सीमित नरही एक सामान्य नागरिकको दृष्टिकोणबाट पनि विश्लेषण गर्नुपर्ने हुन्छ । जुन कुराको उठान यस पुस्तकमा भएको मैले पाएको छु । यस पुस्तकको स्रोतबाट प्राप्त भएको जुन निष्कर्ष छ । यसको अनुकरण र अनुसरणबाट नेपाल प्रहरीको विकास र रूपान्तरणको लागि यसले कोशेढुंगा साबित हुने कुरा पनि मैले विश्वास लिएको छु ।’

कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ प्रहरी उपरीक्षक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =