पार्टीको चिन्ता पछि गर्दापनि हुन्छ, अहिले देशको चिन्ता गरौँः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन नभइ देशको चिन्ता गर्न जरुरी रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा यात्रा आफैँभित्र नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले सबै राजनीतिक दलहरु मिसन २०८४ भनेर बसिरहेको भन्दै राजनीतिक दलहरुले मिसन २०८४ नभइ देशको चिन्ता गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । उनले मिसन २०९४ बनाएर आगामी १५ वर्षमा कसरी देश बनाउने भनेर योजना बनाइ काम गर्नुपर्ने बताए ।

उनले पार्टी ओरालो लागेपछि केही मानिसहरुलाई काँग्रेस छोडौँ छोडौँ जस्तो लाग्ने गरेर पार्टीप्रति असन्तुष्टि व्यक्त गरिरहेको बताए ।

उनले भने, ‘राजनीतिक जीवनमा कोही कोही बेला पार्टी यस्तो ओरालो लागेको छ की भनेजस्तो भएपछि मान्छेलाई काँग्रेस छोडौँ, छोडौँ जस्तो लाग्ने रहेछ । होइन यसमा भविष्य छैन जस्तो लाग्दो रहेछ । यस्ता कुरा धेरै आए । कतिपय मान्छेलाई मिसन ८४ भनेर घोषणा गर्नुपर्छ । मिसन ८४ भनेको ८४ मा चाहीँ जित्ने भनेको हो । ८४ मा बलियो हुने, बहुमत ल्याउने हो । ७४ मा चुनाव भयो, ०७९ को चिन्ता, ०७९ मा चुनाव भयो, ८४ को चिन्ता । ०८४ मा चुनाव भएपछि ८९ को चिन्ता । यो देशको चिन्ता कहिले ? मिसन ८४ भनेर ८४ मा काँग्रेसले जित्ने की नयाँ दलले जित्ने की ? एमालेले जित्ने की काँग्रेसले जित्ने, थन्क्याएर राख्दिऔँ, मिसन ८४ होइन, ९४ को कुरा गरौँ न । यो देशको भविष्य अबको १५ वर्षमा के बनाउनसक्छौँ ? कहाँ पुग्ने भन्ने चिन्ता गरौँ । काँग्रेस, एमाले, माओवादीको चिन्ता पछि गर्दा पनि हुन्छ, तर अहिले चुनाव भइसक्यो, सरकार बनिसक्यो, केन्द्र, प्रदेश, स्थानीयमा सरकार छन्, कोहीले जित्यौँ, हारेका छौँ, तर जनताका प्रतिनिधिले जितेका छन् ।’

महामन्त्री शर्माले पार्टी बनाउने चिन्ता पछि गर्दापनि हुने तर देश बनाउने चिन्ता गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =