तोसिमाको टिप्पणी– प्रचण्डमाथिको कुण्ठा की बचकना ?

काठमाडौँ । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहादको निधन भयो । उनको निधनले प्रचण्ड परिवार मात्र होइन देश नै शोकमा डुब्यो ।

६९ वर्षीय सीता ‘पीएसपी’ (प्रोगेसिभ सुपरान्यूक्लियर पाल्सी) रोगबाट ग्रसित थिइन् । ओछ्यानमै अर्धचेत रहेकी सीतालाई स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार बिहान बालुवाटारबाट थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइयो । उपचारको क्रममा उनको अस्पतालमा निधन भएको हो । सीतालाई प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएको समेत थाहा–पत्तो थिएन ।

सीताको निधनपछि उच्चपदस्थ व्यक्ति, पार्टी कार्यकर्ता, शुभचिन्तक नर्भिक, पेरिसडाँडा (माओवादी पार्टी कार्यालय) हुँदै अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति (आर्यघाट) पुगे । त्यसमा प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्की पनि थिइन् । श्रद्धाञ्जली दिन पुगेका र मलामी गएका सबैसँग सञ्चारकर्मीले ‘बुम’ तेर्साइ हाल्थे । सबैले आ–आफ्नो धारणा राख्थे । ती धारणामध्ये तोसिमाको धारणा विवादित छ । उनले मिडियासँग राखेको धारणाको चौतर्फी विरोध भइरहेको छ । दुःखको घडीमा प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर असंवेदनशील अभिव्यक्ति दिएको भन्दै उनको आलोचनना भएको हो ।

तोसिमाको अभिव्यक्तिसम्बन्धी सार्वजनिक भिडिओ क्लिप्समा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त ?’ भन्नेलगायतका अभिव्यक्ति दिएकी छन् ।

तोसिमाले उक्त अभिव्यक्ति दिइरहँदा आर्यघाट अरू दिनभन्दा अझ धेरै भावविह्वल थियो । श्रीमती गुमाएका प्रचण्ड शोकमग्न थिए । प्रचण्ड परिवारका सदस्यहरूको आँखाबाट आँसु झरिरहेको थियो । बुहारी बिना मगर डाँको छोडेर रोइरहेकी थिइन् । त्यही नीरास वातावरणमा उक्त अभिव्यक्ति दिइरहेकी थिइन्, तोसिमाले ।

सञ्चारकर्मीले सोधेको प्रश्नमा तोसिमाको जवाफ छ, ‘…हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ । परिवारलाई संरक्षण र जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त ? भन्ने प्रश्नहरू पनि आउन सक्छन् । त्यही भएर उहाँ ब्यालेन्स नै तरिकाले लाग्नुभएको भन्ने बुझ्छु । …अहिले विछिप्त भएको अवस्थामा धेरै टिकाटिप्पणी नगरौँ ।’

उनले थप भनेकी छन्, ‘प्रधानमन्त्रीले पटकपटक यसरी परिवारका सदस्यहरू गुमाउँदै गर्दाखेरि उहाँले फर्केर आफू द्वन्द्वकालमा हुँदैगर्दा आफ्नो परिवारका सदस्यहरू, श्रीमानहरू गुमाएका, श्रीमतीहरू गुमाएका छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुःखलाई पनि सम्झनुपर्छ । आफ्नै दुःख सरह बुझ्नुपर्छ । र, त्यसको लागि के गर्नुपर्छ र कसरी सम्बोधन हुनसक्छ भन्ने कुरा चाहिँ प्रधानमन्त्रीको हैसियतमा भइसकेको एउटा राष्ट्रको पिताको रूपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ ।’

यस्तै, तोसिमाले नयाँ युगका क्रान्तिमा होमिएका आफूहरूजस्ता युवा महिलाहरूले सीता दाहालबाट सिक्नुपर्ने चाहिँ धेरै रहेको बताएकी छन् ।

‘जीवनभरि संघर्ष गर्दा, एउटा छोरा गुमाउँदा पनि कति पनि बिचलित नभइकन राष्ट्रकै गरिमामय पदमा हुनुभएका श्रीमानको सदैव साथ दिइराख्नु भयो । त्योबाट पनि हामीले के बुझ्न सक्छौँ भन्दा हिजोको दिनमा क्रान्तिमा होमिएका तमाम ती महिला दिदीबहिनीहरू जो हिजो बलात्कारजस्तो क्रन्दनहरू पनि भोग्नुप¥यो, त्यस्तो सम्मको पीडा भोग्नुपरेको थियो । उत्पीडन भोग्नुपरेको थियो । त्यसका बाजजुत जुन एउटा व्यवस्था स्थापनाका लागि संघर्ष गर्नुभएको छ । उहाँहरू उदाहरणीय हुनुपर्छ । हामी महिलाहरूले, हामी नयाँ युगका क्रान्तिमा होमिएका हामीजस्ता युवा महिलाहरूले पनि उहाँबाट सिक्नुपर्ने चाहिँ कुरा छ…।’

आलोचनापछि माफी

तोसिमाले आफूले बोलेको बाइट तोडमोड भएको बताएकी छन् । उनले पूरा भिडिओ सुन्न आग्रह गर्दै तोडमोड गरी राखिएको अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा क्षमायाचना गरेकी छन् ।

तोसिमाले सामाजिक सञ्जालमा बुधबार राति लेखेकी छन्– ‘सम्माननीय प्रधानमन्त्रीज्यूकी धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदरणीय आमा सीता दाहालको असामयिक निधनले समग्र देशवासीलाई मर्माहित तुल्याएको छ, जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागि दिनुभएको योगदानलाई इतिहासले सम्झनुपर्छ । उहाँले आफ्नो जीवनभर बिना स्वार्थ, बिना कुनै पद र सम्मानको लोभ, गर्नुभएको योगदान प्रति नतमस्तक छौँ, सम्मानित उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीज्यू र समग्र परिवारलाई विचलित नभइ यो दुःखद घडिको सामना गर्न शक्ति मिलोस् भनी कामना गर्न चाहन्छु । (म स्वय‌ंले पेरिसडाँडामा राखिएको उहाँको सम्मानित पार्थिव शरीरमा फूल र श्रद्धा अर्पण गरेपछि केही मिडियाकर्मी साथीहरूले लिनुभएको बाइटलाई तोडमोड गरी राखिएकोमा, पूरा भिडिओ सुन्नुहुन आग्रह गर्न चाहन्छु र साथै तोडमोड गरी राखिएको अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =