राष्ट्रिय सभामा पेट्रोलियमको मूल्य घटाउनेदेखि डेंगु नियन्त्रणसम्मका कुरा

काठमाडौँ । राष्ट्रिय सभा शून्य समयमा सांसदहरूले आ-आफ्ना भनाई राखेका छन् । केहीले आफ्नो क्षेत्रका समस्या राखे भने केहीले सार्वजनिक चासोका विषय उठाएका हुन् ।
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रूपमा सूचीकृत गर नियन्त्रणका लागि पहल गर्न माग गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रूपमा सूचिकृत गर्न माग गरेका हुन् । उनले सूचिकृत गरी डेंगुको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरू बन्द गरी विद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘धेरै जसो स्वास्थ्य क्षेत्रहरूमा यतिबेला जनशक्ति र स्वास्थ्य उपकरणहरूको अभाव छ भनेको सुनिएको छ । सरकारले प्राविधिक र छिट्टै रोजगारीको सम्भावना भएको विषय अध्ययन, अध्यापन गराउन नर्सिङ कलेजहरूलाई १०० शय्याको अस्पताल अनिवार्य बनाउँदै दर्जनौँ नर्सिङ कलेजहरूलाई बन्द गर्न बाध्य पारिएको हो भनेर सुनिएको छ । नर्सिङ कलेजहरूलाई बन्द गर्दै बोर्डरमा खोलेका कलेजहरूमा जान शैक्षिक माफियाहरूले नै प्रेरित गरेको पनि सुनिएको छ । यो महत्त्वपूर्ण विषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण होस् ।’
राष्ट्रिय सभा सदस्य कुमार दसौदीले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् । उनले पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भएपनि सरकारले मूल्य नघटाएको बताए ।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले अन्नपूर्ण संरक्षण आयोजना(एक्याप)ले स्थानीय तहका विकास निर्माण लगायतका काममा व्यवधान सिर्जना गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले समस्या समाधान गर्न सरकारलाई अनुरोध गरे ।
उनले भने, ‘अन्नपूर्ण संरक्षण आयोजना एक्यापले स्थानीय तहका विकास निर्माण लगायतका काममा व्यवधान सिर्जना गरेको भन्ने व्यापक गुनासो छ । यस्तै गुनासो गण्डकी सरकारको पनि छ । वन तथा भू संरक्षण मन्त्रालयको २०७१ फागुन २५को राजपत्रमा प्रकाशित सूचना अनुसार एक्याप स्थानीय समुदायलाई हस्तान्तरण गर्ने भन्ने छ तर हालसम्म पनि हस्तान्तरण नभएकोमा प्रभावित क्षेत्रका समुदाय स्थानीय सरकार आन्दोलित छन् । आक्रोशित छन् । यो समस्याको समाधानमा सरकारको विशेष पहलकदमीका लागि अनुरोध छ । एक्याप जस्तै देशभर संरक्षण आयोजनाको नाममा स्थानीय समुदाय, स्थानीय सरकार प्रताडित छन् । पञ्चायतकालीन कानूनलाई टेकेर नागरिकलाई दुःख दिने काम नगरियोस् । पुरानो ऐन, कानूनलाई संविधानको भावना अनुसार सुधार गरियोस् ।’
राष्ट्रिय सभा सदस्य दीपा गुरुङले वर्षाका कारण देशको थुप्रै ठाउँमा बाढी, पहिरो गएको र जनधनको क्षति भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले प्रभावितहरूलाई व्यवस्थित ढंगले राहत, सहुलियतका साथै स्थानान्तरण गरी बसोबासको उचित व्यवस्था मिलाउन माग गरिन् ।
राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले आगामी आर्थिक वर्ष २०८०/८१ मा हुम्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जालमा जोड्नेगरी बजेटको सुनिश्चितता मिलाउन माग गरिन् । त्यस्तै सडक निर्माणमा खटिएका नेपाली सेनाको जोखिम भत्ता नकटाउन समेत उनले माग छ ।
राष्ट्रिय सभा सदस्य महेशकुमार महराले डडेलधुरामा अविरल वर्षाका कारण केही गाउँ भासिएर ४५ घरहरू विस्थापित भएको भन्दै उनीहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरे । राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले खेतीको सिजनमा किसानले मल नपाएका बताए । राष्ट्रिय सभा बैठक जारी छ ।








