सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरे । उनले जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा जोड दिए । पुरस्कृत प्रतिभाहरूको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य स्रष्टाहरूलाई पनि आफ्नो आफ्नो क्षेत्र तथा विधाबाट राष्ट्रलाई योगदान गर्न प्रोत्साहन मिल्ने प्रधानमन्त्रीको विश्वास छ ।
राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सृजनाशीलताले देशको सर्वोपरि विकास समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उनले बताए । ‘राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सृजनाशीलताले देशको सर्वोपरि विकास समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्दछ । यो पुरस्कारबाट पुरस्कृत प्रतिभाहरूको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य स्रष्टाहरूलाई पनि आफ्नो आफ्नो क्षेत्र तथा विधाबाट राष्ट्रलाई योगदान गर्न प्रोत्साहन मिल्नेछ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा सायदै कसैको विमति नहोला । समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरूबाट महत्त्वपूर्ण योगदान हुनेछ ।’
उनले नेपालको राजनीतिक आन्दोलन मात्र नभई सिङ्गो देशको आन्दोलनमा समेत विशिष्ट योगदान गरेका बताए । पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० बाट कमलप्रसाद कोइराला, डा. बालचन्द्र मिश्र र गोपालप्रसाद थपलियालाई सम्मान गरिएको छ ।








