सबै प्रदेशमा औंपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चा, नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ ।

शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिन भित्रै औंपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

मोर्चाको सन्देश देशभर पु¥याउने गरी सबै प्रदेशको राजधानी सहरहरुमा केही दिन भित्र औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । त्यसैगरी बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा कार्यदलमा रहनु भएको पनि उपाध्यक्ष पाण्डेले बताए ।

कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेश हुने र पारित हुनेछ । उपाध्यक्ष पाण्डेका अनुसार मोर्चाको बैठकको अध्यक्षता ६÷६ महिनामा परिवर्तन गर्ने सहमती पनि गरिएको छ ।

पाण्डेले भने, ‘बैठक मोर्चाका नेता माधवकुमार नेपालको अध्यक्षतामा सम्पन्न भयो । यो बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लव लगायत चार वटै पार्टीका दोस्रो तहका नेताहरु पनि संलग्न थियौं । बैठक बडो सौहाद्रपूर्ण ढंगले सम्पन्न भयो । समाजवादी मोर्चा गठन भएको २३ दिन बितेको छ । तर प्रथम बैठक अलि ढिलो भयो भनेर हामी सबैले महशुस ग¥यौ । र, यो मोर्चाको उद्देश्य, यसको गठनबाट देशले पाउने कुरा र अहिलेको लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अगाडि बढाउने कुरा यसबारेमा हामीले मनग्गे छलफल ग¥यौं । र, यो छलफल पश्चात र, यसका सन्देशहरु दिनका लागि हामीले सात वटै प्रदेशमा केही दिन भित्रमा मलाई लाग्छ, साउन महिना लाग्छ होला । केही दिन भित्र सात वटै प्रदेशका राजधानीहरुमा कार्यक्रम गर्छौ । त्यो कार्यक्रम कुन–कुन मितिमा गर्छौं भन्ने कुरा चाँही आउँदो २७ गते घोषणा हुन्छ । २७ गते दोस्रो बैठक हाम्रो यही हुन्छ । र, आज ४ जनाको कार्यदल बनेको छ । त्यसको नीति, त्यस्तै गरेर आचारसंहितालगायतका कार्यक्रमहरु तय गर्ने काम चाँही त्यो कार्यदलले तयार पारेर ल्याउने छ । र, सामान्यतयाः यो मोर्चाको ६÷६ महिनामा अध्यक्षता गर्ने, एक जनाले ६ महिना गर्ने, त्यसपछि अर्को ६ महिना अर्को नेताले गर्ने यस्तो खालको सरसल्लाह भएको छ । त्यो सबै टुंगो पनि आउँदो बैठकले गर्नेछ । लगभग समझदारी त्यही छ । त्यो समझदारी टुंगो नहुन्जेल माधव कुमार नेपालले नै बैठकको अध्यक्षता गर्नुहुनेछ । कार्यदलमा चार जना हुनुहुन्छ । एकीकृत समाजवादीको उपाध्यक्ष प्रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका नेता खडगबहादुर विश्वकर्मा उहाँहरु चार जना रहेको कार्यदल बनेको छ । त्यो कार्यदललेल अव बाँकि सबै यो समाजवादी मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम र भावी हुने सबै प्रोग्रामको बारेमा तय गर्नेछ ।’

नेताहरुले मोर्चाको बैठक बस्न ढिलाई भएको स्विकार गर्दै त्यसलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =