एमाले सत्ताका लागि मरिहत्ते गर्दैन,राष्ट्रहित चाहन्छः शंकर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन् ।

महासचिव पोखरेलले कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क समेत गरे ।

नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा आफ्नो पार्टी लागि परेको दोहो¥याए ।

मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढनुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनाव लगत्तै आफनो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी मिशन ग्रासरुट अभियान संचालन गरेको स्पष्ट पारे ।

महासचिव पोखरेलले कमजोर राजनीतिक शक्तिहरुले नेतृत्व लिँदा मुलुकको अवस्था कमजोर भएकाले एमालेले त्यसबाट मुलुकलाई पार लगाउने गरी आफ्नो पार्टीलाई बलियो राजनीतिक शक्तिको रुपमा स्थापित गराउन चाहेको तर्क पनि गरे ।

उनले जनादेश विपरित कमजोर राजनीतिक शक्तिलाई सरकारको नेतृत्वमा पु¥याउने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न आफूहरु क्रियाशील रहेको बताए ।

महासचिव पोखरेलले भने, ‘आज नेपालको राजनीतिमा हेर्नु हुन्छ भने जो कमजोर छ, त्यसले शासनको नेतृत्व गर्ने । के जनताको जनादेश त्यस्तै हो ? आज प्रतिनिधिसभामा हेर्नु हुन्छ भने नेपाली काँग्रेस पहिलो दल छ । नेकपा एमाले दोस्रो दल छ । माओवादी धेरै तल तेस्रो दलको रुपमा रहेको छ । तर सरकारको नेतृत्व कसले गर्दैछ ? तेस्रो दलले गर्दैछ । के का आधारमा गर्दैछ ? भन्दाखेरी नेपाली समाजमा राजनीतिको धुब्रिकरण हुन सकेन । बलियो राजनीतिक दलहरु, जो राष्ट्रका लागि आवश्यक छन्, त्यस आधारमा उनीहरु बलिया हुन सकेनन् । यो मान्यताको आधारमा कमजोर शक्तिले शासन गर्ने र हरदम सम्झौंता गर्ने, नीतिगत सम्झौंता गर्ने जुन प्रकारको अवस्था छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ । त्यस अर्थमा मैले भन्ने गरेको छु–जति धेरै राजनीतिक दलहरु, त्यति धेरै नीतिगत विचलन । जति धेरै राजनीतिक दलहरु, त्यतिधेरै राजनीतिक अस्थिरता । जति धेरै राजनीतिक दलहरु, त्यतिधेरै वैदेशिक चलखेल । जतिधेरै राजनीतिक दलहरु, राष्ट्रको भविष्य अध्यारो हुन्छ । त्यस अर्थमा धेरै राजनीतिक दलहरु होइन्, बलिया राजनीतिक दलहरुतर्फ अव समाजलाई डोहो¥याउन जरुरी छ । बलिया राजनीतिक दलहरुको निर्माणका लागि हामीले चुनाव लगत्तै मिशन ग्रासरुट अभियान चलायौं । त्यसको मुख्य उद्देश्य के थियो ? अहिले हाम्रा लागि सत्ता प्रधान होइन । हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । अव यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरुको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन । बलियो राष्ट्रिय शक्तिको रुपमा नेकपा एमालेको विकास अवको हाम्रो संकल्प हो भन्ने मान्यताको आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौं । र, त्यही मिसन ग्रासरुट अभियानको जगमा यतिबेला नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्पका साथ नयाँ योजना, नयाँ संकल्पका साथ अगाडि बढन खोजिरहेको कुरा म तपाईँहरुको बीचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले जति धेरै राजनीतिक दल, त्यतिधेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अव एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको पनि बताए ।

उनले नीति, सिद्धान्त र संगठनविनाका नयाँ राजनीतिक शक्तिहरुले मुलुकको नेतृत्व लिन नसक्ने जिकीर समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =