यो संसद होइन, नाटकघर रहेछ : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं सांसद सीके राउतले नेपालको संसद खासमा संसद नभएर नाटकघर भएको टिप्पणी गरेका छन् । एक महिनादेखि संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको र उक्त छलफलमा बजेटको चरम विरोध गरेका सांसदहरुले नै जस्ताको तस्तै बजेट ताली बजाएर बजेट पारित गरेको प्रति उनले आश्चर्य जनाएका छन् ।

आफैँले विरोध गर्ने र आफैँले पारित गर्ने भएकोले यो संसद नभएर नाटकघर भएको उनको भनाइ छ ।

उनी लेख्छन्, ‘एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर असमान बजेटलाई, ताली पड्काएर सांसद्हरूले आफैँले पारित गरे । जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसद्हरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेश र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसद्को मर्यादा रहनेथ्यो । तर दुर्भाग्य… सांसद्हरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटंकी न हो। यो संसद् नभएर नाटकघर मात्रै हो। सांसद्हरू भाषण गर्छन्, रोष्ट्रममा पुगेर जोरजोरले चिच्चाउँछन्, आँसु पनि चुहाउँछन, फगत सबै देखाउनका लागि मात्र, जनतालाई मनोरञ्जन गर्नका लागि मात्र ।’

सिद्धान्तको राजनीति सार्‍है महँगो हुने पनि उनले बताएका छन् ।

उनी लेख्छन्, ‘योभन्दा अगाडि पनि सिद्धान्तमा अडिग रहेर उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदबारलाई अघि बढाउँदा हामीले सरकारबाट बहिर्गमन हुनुका साथै ठूलो मूल्य चुकाउनु परेको थियो र प्रहरी प्रशासनको प्रताडना झेल्नु परेको थियो भने अहिले पनि हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो यातना पनि भोग्नु पर्ने हुन्छ । तैपनि ढुक्क हुनुहोस्, हामी सरकारबाट दिएको लाख प्रताडना सहन तयार छौँ तर जनमत पार्टी जनतासँग उभिरहनेछ, आफ्नो सिद्धान्तमा अडिग रहनेछ ।
धन्यवाद ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *