निर्माण सामग्री र ढिलासुस्तीका कारण हुने दुर्घटनाको क्षतिपूर्ति ठेकेदारबाटै भराउन माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले भौतिक पूर्वाधार निर्माणमा पारदर्शिता र ठेकेदारको जबाफदेहिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती र लापरबाहीका कारण हुने मानवीय क्षतिको जिम्मेवारी ठेकेदारले नै लिनुपर्ने बताइन् ।

सांसद न्यौपानेले समयमै ठेक्का सम्पन्न नहुँदा हुने सडक दुर्घटना र त्यसबाट हुने मृत्यु वा घाइतेको उपचार खर्च सम्बन्धित ठेकेदारबाटै असुलउपर गर्ने कानूनी व्यवस्था गर्न प्रस्ताव गरिन् ।

उनले भनिन् ‘समयमै ठेक्का सम्पन्न नभएका कारण जहाँ दुर्घटना हुन्छ र मानवीय क्षति हुन्छ, त्यस्ता घटनामा घाइते भएका व्यक्ति र उनका परिवारलाई सम्बन्धित ठेकेदारबाटै क्षतिपूर्ति भराउने व्यवस्था गर्न मतदाताहरूको माग छ ।’

ठेकेदारकै गल्तीका कारण हुने दुर्घटनामा घाइते भएकाहरूको उपचार खर्चको अभाव हुने गरेको भन्दै उनले यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् । यस्तै, सांसद न्यौपानेले मन्त्रीहरूले दिने कतिपय सार्वजनिक अभिव्यक्तिहरूका कारण जनप्रतिनिधिहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा जनताका प्रश्नको सामना गर्न कठिन भइरहेको बताइन् ।

मन्त्रीहरूका टिप्पणीका विषयमा स्थानीय स्तरमा धेरै सोधखोज हुने गरेको भन्दै उनले कार्यशैली र अभिव्यक्तिमा गम्भीरता अपनाउन आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =