सेफ साह पक्राउमा षड्यन्त्र, ४.५ लाखका लागि जनकपुरसम्म प्रहरी पठाइयो: सचिवालय

काठमाडौँ । सेफ सन्तोष साहको पक्राउ षडयन्त्र पूर्व भएको उनको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै साहको सचिवालयले उनको प्रतिष्ठामा आँच पुर्याउने नियोजित उद्देश्यले षडयन्त्रपूर्वक पक्राउ गरिएको दाबी गरेको छ ।

विज्ञप्तिमा ४.५ लाख सामान्य रकमका लागि फोन गरेर बोलाउन सक्ने भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीलाई पक्राउ गर्नका लागि जनकपुरसम्म पठाइएको उल्लेख छ ।

‘जहाँसम्म पक्राउ परेको विषय छ, त्यो जम्मा चार लाख ५० हजार रुपैयाँका लागि हो । हामी जिल्ला अदालत काठमाडौँले उक्त रकम भुक्तानी गर्नुपर्ने भनी गरेको फैसलाका विरुद्धमा उच्च अदालत जाने तयारीमा थियौँ । जुन हाम्रो अधिकार पनि हो । उच्च अदालतमा जाने हदम्याद रहँदै अकस्मात् षडयन्त्रपूर्वक प्रहरी हिरासतमा लिने काम भएको छ। साथै यति सामान्य रकमका लागि फोन गरेर बोलाउन पनि सक्ने भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीलाई पक्राउ गर्नका लागि जनकपुरसम्म पठाइएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

साथै तत्कालीन समयमा पक्राउ नगरी अहिले यति सानो रकमका लागि पक्राउ गर्नुको पछाडिका कारण भविष्यमा पक्कै खुल्ने जानकारी दिएको छ ।

पढ्नुहोस् सेफ साह सचिवालयको विज्ञप्ति

बिबिसी मास्टर सेफ सन्तोष साह पक्राउको विषय र सोसम्बन्धी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित सामग्रीका विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

साहलाई जुन ढंगले हतार मानसिकतामा पक्राउ गरिएको छ, त्यो निन्दनीय छ । यसले सेफ साहले जीवनभर आर्जन गरेको मान, सम्मान, इज्जत, प्रतिष्ठा र गरिमामा ठूलो आघात पुर्याएको छ । यो कार्य सेफ साहको मानमर्दन र उहाँको प्रतिष्ठामा आँच पुर्याउने नियोजित उद्देश्यले षडयन्त्रपूर्वक गरिएकामा हामी स्पष्ट छौँ ।

सेफ सन्तोष साहले नेपालमा मिथिला समुदायको खाना प्रवर्द्धन गर्ने उद्देश्यले सेफ सन्तोष साहले जनकपुरमा मिथिला थाली नामक रेष्टुरेष्ट सञ्चालन गर्नुभएको सबैलाई विदितै छ । उक्त रेष्टुरेष्टको विस्तार र मिथिला खानाको थप प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले सेफ साहले गैरीधारामा मिथिला थाली रेष्टुरेन्ट सञ्चालन गर्नुभएको हो ।

तत्कालीन समयमा गैरीधारामा आर्जव होल्डिङ्स प्रालिले सिला नामक रेष्टुरेन्ट सञ्चालन गरिरहेको थियो । सञ्चालकले उक्त रेष्टुरेन्ट सञ्चालन गर्न नसकेको, बैंकको ऋण पनि तिर्न नसकेको र जग्गाधनीले समेत लामो समयदेखि पैसा तिर्न ताकेता गर्दै रेष्टुरेन्टमा ताला लगाएर भवन खाली गरिदिन आग्रह गरेको समयमा रेस्टुरेन्टसँग भएको सम्पूर्ण सम्पत्ति खरिद गरी मिथिला थाली रेष्टुरेन्ट सुरु गर्नुभएको थियो ।

सिला रेष्टुरेन्टको सम्पत्ति लिए बापत मिथिला थाली र आर्जव होल्डिङ्सबीच दुई करोड २५ लाख रुपैयाँमा सम्झौता भएको थियो । त्यसमध्ये आर्जव होल्डिङ्सले पहिले रेष्टुरेन्ट सञ्चालन गर्दाको अवधिको घरभाडा बक्यौताबापतको ४० लाख रुपैयाँ र सोही समयको विद्युत् महसुल बक्यौताबापतको दुई लाख ७७ हजार ९९७ रुपैयाँ मिथिला थालीले सम्बन्धित घरधनी र विद्युत् प्राधिकरणलाई आर्जव होल्डिङ्सका तर्फबाट भुक्तानी गरी सहजीकरण गरेको थियो ।

सोही रेष्टुरेन्ट सञ्चालन गर्दा आर्जव होल्डिङ्सले नेपाल बैंकबाट लिएको ऋणको किस्ता समेत पटक पटक मिथिला थालीले नै भुक्तानी गरी सहजीकरण गरिदिएको थियो । त्यस्तै विभिन्न मितिमा चेकबापत पनि भुक्तानी भइरहेको छ ।

पछिल्लो पटक सञ्चारमाध्यममा चर्चा भएको २५ लाख रुपैयाँको कहानी भने अर्कै छ । आर्जव होल्डिङ्सले लिएको २५ लाख रुपैयाँको चेक एकमुष्ठ भुक्तानी नभई कम्पनीका प्रतिनिधिले दिएका आर्जव होल्डिङ्सकै नबिल बैंकमा रहेको खातामा दुई वटा चेकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा दुई वटा चेकमार्फत ६ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडमा चार वटा चेकमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी भुक्तानी गर्नुपर्ने रकमभन्दा बढी कूल रु २८ लाख २५ हजार बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको छ ।

आर्जव होल्डिङ्सको प्रतिनिधि दाबी गर्दै सकुन्तला थापाले पटक पटक आफ्नो व्यक्तिगत खातामा भुक्तानी माग गरेको तर मिथिला थालीले सम्झौताअनुसार नै कम्पनीका नाममा भुक्तानी गर्दै आएको छ ।

सम्झौताअनुसार मिथिला थालीले आर्जव होल्डिङ्सको मातहतमा रहेको सामान खरिदको भुक्तानी गरिरहे पनि सो बापत आर्जव होल्डिङ्सका तर्फबाट कुनै पनि बिल जारी नभएको अवस्था छ ।

आर्जव होल्डिङ्स र मिथिला थालीबीच खरिदबिक्रीको प्रक्रिया भइसकेपछि सो कम्पनीको कर चुक्ता कागजात पाउनुपर्नेमा पटक पटक माग गर्दा पनि होल्डिङ्सका तर्फबाट मिथिला थालीलाई प्राप्त भएको छैन ।

जहाँसम्म पक्राउ परेको विषय छ, त्यो जम्मा चार लाख ५० हजार रुपैयाँका लागि हो । हामी जिल्ला अदालत काठमाडौँले उक्त रकम भुक्तानी गर्नुपर्ने भनी गरेको फैसलाका विरुद्धमा उच्च अदालत जाने तयारीमा थियौँ । जुन हाम्रो अधिकार पनि हो । उच्च अदालतमा जाने हदम्याद रहँदै अकस्मात् षडयन्त्रपूर्वक प्रहरी हिरासतमा लिने काम भएको छ।

साथै यति सामान्य रकमका लागि फोन गरेर बोलाउन पनि सक्ने भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीलाई पक्राउ गर्नका लागि जनकपुरसम्म पठाइएको छ । सञ्चारमाध्यममा त साह फरार भन्ने विषय पनि आएको छ, जबकि एक साता अगाडि साह भद्रकालीस्थित प्रहरी कार्यालय नै पुग्नुभएको थियो । तत्कालीन समयमा पक्राउ नगरी अहिले यति सानो रकमका लागि पक्राउ गर्नुको पछाडि के कारण हो त्यो भविष्यमा पक्कै खुल्नेछ ।

साह प्रहरी हिरासतबाट हिरासतमुक्त हुनुभएको छ । साह पक्राउ परेको सन्दर्भ र रेष्टुरेन्ट खरिद तथा कारोबारमा विषयमा सेफ साहले थप जानकारी सञ्चारमाध्यमलाई दिनुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =