एशियन गेम्सको छनोटमा नियम विपरितः खेलाडी श्रेष्ठ

काठमाडौँ । नेपाली राष्ट्रिय पौडी खेलाडी इर्भिन श्रेष्ठले २०औँ एशियन गेम्सको लागि नेपाल पौडी संघले धाँदली गरी खेलाडी छनोट गरेको र आफूहरूमाथि मानसिक पीडा दिएको आरोप लगाएका छन् ।

नक्सालमा मंगलवार पत्रकार सम्मेलन गर्दै पौडी खेलाडीहरू इर्भिनसँगै मेधाव केसी र निर्णय थापा, उनीहरूका प्रशिक्षक र खेलाडीका परिवारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पौडी संघले छनोट प्रतियोगिताको बिचमा नियम परिवर्तन गर्दै एशियन गेम्स छनोट हुनबाट रोकेको आरोप लगाएका छन् ।

प्रतियोगिताको आदि चरणमा पुगेपछि एशियन गेम्सको छनोट यही प्रतियोगिता बनाइएको संघले सूचना टाँस्दै धाँदली गरेको खेलाडीहरूको आरोप छ । आगामी सेप्टेम्बरमा जापानमा २०औँ एसियन गेम्स आयोजना हुँदै छ । उक्त एशियन गेम्सका लागि गत जेठ २३ र २४ गते पौडी संघले छनोट गरिसकेको छ ।

उक्त छनोटमा इर्भिन श्रेष्ठले आफ्नो विधा (फ्रिस्ट्याइल) मा स्वर्ण जिते पनि हिटमा कमजोर प्रदर्शन गरे । यससँगै इर्भिन फिना पोइन्टमा पछि परे र एशियन गेम्सका लागि छनोट हुन असफल भए । यद्यपि, उनी दुई सय मिटर, एक सय मिटर र ५० मिटर फ्रिस्ट्याइलका स्वर्ण विजेता नै रहे ।

ओभरलमा फ्रिस्ट्याइलमा उनी दोस्रो स्थानमा सीमित रहे । हिटमा २० मिलिसेकेन्डले पछि पर्दा पौडी संघले फिना पोइन्टमा पहिलो हुने खेलाडीलाई छनोट गर्यो । यद्यपि, संघले प्रतियोगिताअगाडि यो प्रिक्वालिफिकेसन (प्रारम्भिक छनोट) रहेको र अन्तिम छनोट पछि हुने उल्लेख गरे पनि दोस्रो दिनमा आएर अन्तिम छनोट रहेको सूचना प्रकाशित गरेको खेलाडी इर्भिनले आरोप लगाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छनोट चलेको समयमा नै पाँच दिनभित्र छनोट सम्पन्न गर्न भनेकाले सोही प्रतियोगिता अन्तिम छनोट बनाइएको पौडी संंघले सूचना प्रकाशित गरेको खेलाडीको भनाइ छ । यसअघि संघले दुई खेलाडीलाई छनोट गर्दै आए पनि एक स्ट्रोक (विधा) बाट एक जना खेलाडी छनोट गर्दै धाँदली गरेको उनीहरूको आरोप छ ।

प्रतियोगिताका बीचमा नै नियम परिवर्तन गरेकाले आफूहरू मानसिक दबाबमा परेको इर्भिनले बताएका छन् ।

खेलाडीहरूले उक्त छनोट प्रतियोगिताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । अदालतले नेपाल पौडी संघ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई बुधवार छलफलका लागि बोलाएको उनीहरूको भनाइ छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघले प्रतियोगिताको प्रारम्भिक सूचना अनुसार खेलाडी छनोट र तयारी गरिएको भए पनि प्रतियोगिताको अन्तिम चरणमा आएर खेलका नियम तथा मापदण्ड परिवर्तन गरिएको आरोप लगाएको हो ।

च्याम्पियनसिपअघि शीर्ष आठ खेलाडी फाइनलमा पुग्ने उल्लेख थियो । सोही आधारमा खेलाडीलाई तयारी गराइएको भए पनि प्रतियोगिता सञ्चालनका क्रममा उक्त नियम परिवर्तन गरी फाइनलमा सहभागी हुने खेलाडीको संख्या घटाइएको जनाइएको छ ।

प्रतियोगिता चलिरहेकै बेला नियम परिवर्तन गरेर खेलाडीलाई अन्याय गरेको अभिभावकको दाबी छ । संघका पदाधिकारीहरूले खेलकुदमा निष्पक्षता र पारदर्शिता हुनुपर्नेमा जोड दिँदै प्रतियोगिता सञ्चालनका क्रममा नियम परिवर्तन गर्नु खेल भावना विपरीत भएको खेलाडीले बताएका छन् ।

संघले मापदण्ड विपरीत खेल सञ्चालन गरेको खेलाडीको भनाइ छ । यसले खेलाडी तथा प्रशिक्षकहरूलाई अन्योलमा पारेको र प्रतियोगिताको विश्वसनीयतामाथि प्रश्न उठाएको उनीहरूको आरोप छ । उनीहरूले दोषीमाथि आवश्यक कारबाही तथा पीडित खेलाडीलाई न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =