स्पेनलाई रोकेर विश्वभर चर्चित बने भोजिन्हा, खेलपछि किन रोए ?

करोडौं समर्थक पाए, तर खोजे आफ्नैहरू

काठमाडौं । २०२६ विश्वकपमा स्पेनविरुद्ध केप भर्डेका गोलकिपर भोजिन्हाले गरेको प्रदर्शनले विश्व फुटबलको ध्यान खिच्यो । लगातार खतरनाक प्रहार बचाउँदै उनले गोलपोस्ट अगाडि अभेद्य पर्खाल खडा गरेपछि सानो अफ्रिकी राष्ट्र केप भर्डे विश्वकपकै चर्चित टोलीमध्ये एक बन्यो ।

तर खेलपछि मैदानका नायक बनेका ४० वर्षीय भोजिन्हाको अनुहारमा विजयको उत्साहभन्दा भावनाको भार बढी देखिन्थ्यो ।

खेल सकिएलगत्तै उनी भावुक बने । आफ्नो जीवनको सबैभन्दा ठूलो क्षणमा आफूलाई हुर्काएर ठूलो बनाउने हजुरबा–हजुरआमा र आमाको अनुपस्थितिले उनलाई निकै पिरोलेको थियो ।

‘खेलपछि म रोएँ,’ उनले भने, ‘मलाई हुर्काएर ठूलो बनाउने मेरा हजुरबा–हजुरआमा केही वर्षअघि बित्नुभयो । उहाँहरूले यो ऐतिहासिक क्षण देख्न पाउनुभएन । मेरी आमाले पनि भिसा समस्याका कारण यहाँ आउन सक्नुभएन । यो मेरो करिअरकै सबैभन्दा ठूलो क्षण थियो, तर मेरो जीवनका सबैभन्दा महत्वपूर्ण मानिसहरू त्यहाँ हुनुहुन्नथ्यो ।’

स्पेनजस्तो विश्व फुटबलको महाशक्तिविरुद्धको प्रदर्शनपछि भोजिन्हा रातारात विश्वभर चर्चित बने । खेलअघि सामाजिक सञ्जाल इन्स्टाग्राममा करिब ४५ हजार फलोअर्स रहेका उनका समर्थक केही समयमै लाखौंले बढे ।

विश्वभरका फुटबल समर्थकहरूले उनलाई उत्कृष्ट गोलकिपर मात्र नभई संघर्ष, धैर्य र समर्पणको प्रतीकका रूपमा प्रशंसा गरिरहेका छन् ।

जम्मा करिब ६ लाख जनसंख्या भएको पश्चिम अफ्रिकी राष्ट्र केप भर्डेले विश्वकपमा पहिलो सहभागितामै स्पेनलाई गोलरहित बराबरीमा रोक्दै इतिहास रचेको दाबी गरिएको छ । सानो राष्ट्रको साहसी प्रदर्शनले फुटबल जगतलाई चकित बनाएको छ ।

तर करोडौं नयाँ समर्थकको माया पाए पनि भोजिन्हाको मनमा एउटा अभाव भने कायम रह्यो । त्यो अभाव थियो– आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि आफ्ना प्रियजनसँग साट्न नपाएको पीडा ।

विश्वकपको त्यो रात केप भर्डेका लागि इतिहास बन्यो, तर भोजिन्हाका लागि त्यो संघर्ष, सफलता र सम्झनाले भरिएको भावनात्मक क्षण पनि बन्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =