डोटी एक्स्काभेटर ठेक्का हिनामिना आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा एक्स्काभेटर भाडा ठेक्कामा करिब ४६ लाख ९५ हजार रुपैयाँ हिनामिना भएको आरोपमा तत्कालीन अध्यक्ष, उपाध्यक्ष, कर्मचारी तथा ठेकेदारसहित ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आ.व. २०७७/७८ को ठेक्का नं. ०२र०७७/०७८ मा कार्यपालिका बैठकबाट न्यूनतम भाडा दरभन्दा कममा मासिक ४ लाख ५० हजार रुपैयाँमा एक्स्काभेटर भाडामा दिने निर्णय गरिएको थियो ।

सूचना प्रकाशनमा प्रक्रिया उल्लङ्घन गर्दै प्रतिस्पर्धा देखाउन तीनवटा फर्म मात्र सहभागी गराइएको र गलत सिफारिसका आधारमा भागरथी निर्माण सेवासँग सम्झौता गरिएको आरोप छ ।

सम्झौता अनुसार कार्यसम्पादन जमानत बिना नै एक्स्काभेटर प्रयोग गर्न दिइएको तथा करिब ८४० घण्टा प्रयोगबाट प्राप्त हुनुपर्ने करिब ४६ लाख ९५ हजार रुपैयाँ गाउँपालिकामा दाखिला नगरी हिनामिना गरिएको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रमा तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, उपाध्यक्ष इन्द्रा कुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक राज जैशी, सब–इन्जिनियर दान बहादुर पछेरा, लेखापाल युवराज भट्ट, भागरथी निर्माण सेवा र सञ्चालक पशुपति जोशी तथा केशव बहादुर बमसमेत प्रतिवादी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =