टिप्पणी

सुधारका भाषण ठोक्ने माननीयहरू सुध्रिनुपर्दैन ?

नेपालले विदेशीलाई तिर्नुपर्ने ऋण बढेको बढ्यै छ । विदेशीसँग लिएको ऋण झण्डै २२ खर्ब पुगिसकेको छ । अहिले एक जना नेपाली नागरिकको थाप्लोमा करिब ९० हजार विदेशी ऋणको भारी छ । विदेशीसँग लिएको ऋण तिर्न नसक्ने अवस्थामा सरकार पुगिसकेको छ । ऋण लिनेमात्र र नतिर्ने हो भने नेपाल कालोसूचीमा पर्न बेर लाग्दैन । मुलुकको अस्तित्व पनि नरहन सक्छ । अब मुलुक जोगाउने तीन वटा उपाय मात्र बाँकी छ ।

पहिलो: विदेशीसँग ऋण लिएर सरकारी खर्च धान्ने काम तत्काल बन्द गरौँ । दोस्रो: विदेशी ऋण मिनाहाका लागि पहल गरौँ । तेस्रो: सबैतिरबाट कर उठाऔँ । करबाटै सरकारी खर्च धानौँ । कम हुन्छ भने बरु सरकारी खर्च कटौती गरौँ । सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्मा पेश गर्‍यो । अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा करको दायरा हेरफेर गरिएको छ । उनले कुनै वस्तुमा कर बढाएका छन् त कुनैमा यथावत् नै छ । उनले विभिन्न शीर्षकमा कर बढाएपछि संसद्मा चर्को विरोध भइरहेको छ । अर्थ मन्त्रालयले व्यापारीहरूले तिर्नुपर्ने कर बढाएको छ । व्यापारीहरूलाई कर बढाएको भन्दै सांसदहरू सदनमा बुरुकबुरुक उफ्रिरहेका छन् ।

सरकारले कर नबढाउने हो भने सरकारी खर्च कसरी धान्ने ? सांसदहरूलाई तलबभत्ता र सेवासुविधा कसरी दिने ? विदेशी ऋण कहाँबाट ल्याएर तिर्ने ? सरकारी खर्च धान्ने एउटा मात्र आयस्रोत कर हो । खर्च धान्नेजति कर नउठ्दा सरकारले विदेशीसँग ऋण लिएर सरकारी कर्मचारी पालिरहेको छ । सांसदहरूलाई तलब खुवाइरहेको छ । कर नै नबढाउन दिने हो देश त ‘गोलखाडी’ मा जान्छ । तर, सांसदहरू यति सामान्य कुरा पनि किन बुझ्दैनन् । व्यापारीहरूले वर्षौँदेखि कर तिरेका छैनन् । उनीहरूबाट कर उठाउनुपर्छ भनेर आवाज उठाउन सक्ने आँट त यिनीहरूमा छैन ।

कर उठाऊ भन्नुको साटो कर किन बढाएको ? भन्दै संसद्मा नौटंकी मात्रै देखाइरहेका छन् । हिजो चुनाव लड्ने बेला व्यापारीहरूसँग खाएको त अहिले निकाल्नुपर्‍यो नि, होइन र सदनमा पनि सबै दलाली पुगेका छन्, अनि मुलुकले कसरी निकास पाउँछ ? कोही शेयर दलाली त कोही घरजग्गा । यिनीहरूकै दबाबमा आएर सरकारले शेयर र घरजग्गाको कर फिर्ता लिइहाल्यो । मुलुकको अर्थतन्त्र डामाडोल छ । बजारमा पूरै मन्दी छाएको छ । मुलुक आर्थिक संकटमा गएको बेलामा समेत यिनीहरूले तलब भत्ता छोडेका छन् । सरकारी गाडी चढी नै रहेका छन् । देशविदेश घुम्ने क्रम पनि जारी नै छ ।

ठेकेदारहरूसँग कमिसन खाने काम पनि रोकिएको छैन । देश जटिल मोडमा छ तर कुनै सांसदले तलब भत्ता लिन्न, सेवासुविधा चाहिँदैन भनेर भनेका छन् ? छैन । आफूचाहिँ केही नत्याग्ने, भएजति सबै सोर्न खोज्ने अनि सरकारले कर बढाउन पाउँदैन भनेर सदनमा चिच्याउने । यस्ता दोहोरो चरित्र भएका त सांसद छन् । उनीहरूलाई सेवासुविधा पनि बढिबढी चाहिएको छ । सेवासुविधा दिनलाई त राज्यसँग पनि स्रोत हुनुपर्ला नि । ढुकुटीचाहिँ रित्तो छ तर सांसदहरूको माग सकिँदैन । सरकारले कहाँबाट ल्याएर परिपूर्ति गर्ने । न कर उठाउन दिन्छन्, न सेवासुविधा त्याग्न नै सक्छन् । सरकारले गर्नेचाहिँ के ?

राष्ट्रप्रेम भएका सांसदहरू सदनमा कमै छन् । राष्ट्रिय पोशाक लगाउँदैमा राष्ट्रप्रति माया जाग्ने होइन । मुखले जति नै राष्ट्रियताको भाषण ठोके पनि व्यवहारले प्रमाणित गरिहाल्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने घोषणा गरेका छन् । चितवनका जनताले पत्याए भन्दैमा देशभरका जनताले पत्याउँछन् जस्तो लाग्छ ? चुनाव जित्नका लागि जनताको मन जित्नुपर्छ । जो सदनमा उभिएर कहिले जनताको पक्षमा आवाज उठाउँदैन । राष्ट्रका लागि सामान्य सेवासुविधा त्याग गर्न सक्दैन, ऊ राष्ट्रप्रेमी नेता रे ।

मुखले भट्ट्याउँदैमा राष्ट्रप्रेमी बनिँदैन, काम पनि गर्नुपर्छ । उनी मात्र होइन, सदनमा हरेक सांसद त्यस्ता छन् । सबै जना आफ्नो धोक्रो भर्न आएका हुन् । जनताका लागि न हिजो कोही आएका थिए न भोलि आउँछन् । जो फटाहा कुरा बोल्छ सक्छ, स्टन्टबाजी गर्छ जनताहरू उसैको पछि दौडिरहेका छन् । कुरा होइन, काम हेरौँ । जनताको लागि केही गर्छु भन्ने भावना बोकेर आएका केही सांसदहरू ‘फटाहा’हरूको कारणले ओझेलमा परेका छन् । हामीलाई विकास चाहिएको छ, आश्वासन होइन । आश्वासन त यहाँ सबैले दिन्छन् तर पूरा पो कसैले गर्दैनन् ।

सांसदहरूले लगाएको लोगो राष्ट्रियताको प्रतीक हो । तर, सांसदहरूले राष्ट्र र जनताको हित हुने गरी कुनै काम गरेका छन् त ? छैन । वास्तवमा भन्ने हो भने सांसदहरू उद्योग व्यवसायीका झोले हुन् । यिनीहरूले उद्योग व्यवसायीको पक्षमा काम गर्छन् । नेताहरूले नेपाललाई ऋणको दलदलमा फसाइदिए । केही वर्षैमा नेपालले तिर्नुपर्ने विदेशी ऋण दोब्बर तेब्बर भयो । देशमा के-के गर्छु भन्ने रवैयाका साथ नयाँ पार्टीहरू आए । मुलुकमा विकासको मूल फुटाउँछौँ भनेर जनतालाई ठूल्ठूला आश्वासन दिए । अहिले आएर सबै छर्लङ्ग भइहाल्यो ।

नयाँ दल र पूराना दलमा कुनै भिन्नता छैन । नयाँले पनि तलब खाए, भत्ता र सेवासुविधा लिए । पूरानाले त लिँदै आएका थिए । राज्यको ढुकुटीमा पूरानाले मात्र कति राज गर्ने अब हाम्रो पालो भनेर रवि लामिछानेजस्ता आएका हुन् । अमेरिका छोडेर नेपाल फर्किएका उनले टेलिभिजनमा बसेर पूराना दलका नेताहरूले बेस्सरी गाली गर्दै आएका थिए । सेवासुविधा लिए, राज्यको ढुकुटीमा मोजमस्ती गरे भनेर घोक्रो सुक्नेगरी चिच्याउने त उनी नै हुन् । उनी आफैँ पनि अहिले सांसद छन् । एक महिनाका लागि गृहमन्त्री पनि बने । तर, के नै परिवर्तन गरे त ?

उनी र अन्य नेतामा कुनै फरक देखियो ? आफूले खान नपाएर जलन जलेकाले त त्यसरी चिच्याएका रहेछन् भन्ने त प्रमाणित भइसकेको छ । पहिले आफू सुध्रिनुपर्‍यो अनि अरूलाई सुधार्न लाग्नुपर्‍यो । अहिलेकै पारा हो भने २०८४ सालमा नेपालले तिर्नुपर्ने विदेशी ऋण ४४ खर्ब पुग्छ । अनि जनताले यिनीहरूलाई छोड्दैनन् । त्यसपछि को पहिलो पार्टी बन्दो रहेछ ? भन्ने त थाहा भइहाल्छ । यिनीहरूले जति मोजमस्ती गरे, त्यो सबै देश धितो राखेर गरेका हुन् । माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै उस्तै छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, भूपू राष्ट्रपति, प्रधानमन्त्री, सरकारी कर्मचारीलगायत सबैले देशलाई दाउमा राखेका छन् ।

विदेशीबाट लिएको ऋण यिनीहरूको सेवासुविधालाई नै ठिक्क भएको छ । भोलि मुलुकमा विदेशी हस्तक्षेप भयो भने यिनीहरूलाई जनताले देश निकाला गर्छन् । राष्ट्रभन्दा ठूलो केही हो । धमाधम विदेशीसँग हात फैलाउनुअगाडि सोच्नुपर्दैन । हाम्रोजस्तो अल्पविकसित मुलुकले ऋण लिएर कहाँबाट तिर्ने ? जनताहरूको अवस्था नदेख्ने अनि जे मनलाग्यो त्यही गर्ने ? राज्यशक्तिमा बस्नेहरूको मात्र त देश होइन होला नि ? नेपाल सबै नेपाली जनताको हो । तर, यिनीहरूलाई देश धितो राख्ने अधिकार कसले दियो ? विदेशीसँग लिएको ऋण कहाँ खर्च भयो ? जनतालाई थाहा छैन ।

न कहीकतै विकास भएको छ । कतिपय जिल्लामा आज पनि बाटो पुगेको छैन । अस्पताल छैन । पढ्नका लागि पाँच घण्टाको बाटो हिँड्नुपर्छ । दुई छाक खानका लागि धौ धौ छ । जनताको समस्या ज्युँको त्युँ छ । उनीहरू हिजो जहाँ थिए, आज पनि त्यही छन् । उनीहरूको जीवनमा कुनै परिवर्तन आएन । जति पनि परिवर्तन आयो, यी ‘शोषकी’हरूको जिन्दगीमा आयो । हिजो पनि जनता उपचार नपाएर मरेका थिए, आज पनि मरिरहेका छन् । जनताको जीवनस्तरमा कुनै सुधार आएको छैन भने उनीहरूको थाप्लोमा यत्रो ऋण कसरी लाग्यो ? नेता र सरकारी कर्मचारीलाई भन्दा धेरै देशको माया त महाबौद्धमा भारी बोक्ने भरियालाई छ ।

उनीहरूले आफ्नो रगत पसिना बेचेर खाए तर, नेता र सरकारी कर्मचारीजस्तो देशमाथि ऋण थपेर त खाएनन् । सुकिलामुकिलाहरु देख्दा आज जनतालाई घृणा लागेर आउँछ । गरिब नै भएपनि नेपाली नागरिक हुनुको महत्त्व भरियालाई थाहा छ । अहिले बजारमा पूरै मन्दी छाएको छ, तर नेता, सांसद र सरकारी कर्मचारीलाई अझैपनि कुनै फरक परेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *