शक्षित वर्गबाटै महिलामाथि हिंसा भइरहेको छ : मुख्यमन्त्री कँडेल

भेरीगङ्गा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले महिला सहभागितासँगै नेतृत्व विकासमा जोड दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय महिला आयोगले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘नीतिगत तहमा महिलाको पहुँच स्थापित गराउने’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले महिला निर्णायक तहमा पु¥याउनसके समृद्धि हासिल गर्न पनि सघाउ पुग्ने बताए ।

उनले कर्णाली प्रदेश प्राकृतिकरूपले धनी भए पनि गलत सामाजिक मूल्यमान्यताका आधारमा पछाडि रहेकाले महिलाको अवस्थामा सुधार हुननसकेको बताए । “हाम्रो प्रदेश प्राकृतिकरूपमा अन्य प्रदेशभन्दा धनी छ तर अन्य क्षेत्रमा भने हामी पछाडि पारिएका छौँ”, मुख्यमन्त्री कँडेलले भने, “विगतमा भन्दा महिलाको अवस्थामा केही परिवर्तन भए पनि मूलभूतरूपमा अझ धेरै परिवर्तन गर्न बाँकी छ । त्यसलाई सुधार्न हामी सबैको योगदान जरूरी छ ।”

कर्णालीमा छाउपडी, बहुपतिलगायत कुप्रथा र विभेदहरू अहिले पनि कायम रहेका र शिक्षित वर्गबाटै महिलामाथि हिंसा हुनेगरेको भन्दै मुख्यमन्त्री कँडेलले त्यसले कर्णालीको विकासमा पनि असर पुर्याइरहेको धारणा राखे ।

मुख्यमन्त्री कँडेलले सहभागिता र कार्यसम्पादन छुट्टाछुट्टै विषय भएकाले संविधानले सुनिश्चित गरेका महिला अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने बताए । राष्ट्रिय महिला आयोगले दिएका सुझावका आधारमा प्रदेश सरकारले महिला सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्दैजाने पनि मुख्यमन्त्री कँडेलको प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *