आगामी तीन वर्षभित्र काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माण सकिने छ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री ज्वालाले सो द्रुतमार्गको निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २२ अर्ब बजेट व्यवस्था गरिएको पनि बताए ।
उनले मन्त्रालयको बजेट चालू आर्थिक वर्षको भन्दा करिब ३७ अर्ब घटेकाले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको स्पष्टीकरण समेत दिए । मन्त्री ज्वालाले सो द्रुतमार्गको निर्माण कार्यलाई नेपाली सेनाले तीव्रताका साथ अघि बढाएको पनि सांसदलाई जानकारी गराए ।
उनले भने ‘भौतिक पूर्वाधार मन्त्रालयको बजेटको बाँडफाँड असन्तुलित भएको सम्बन्धमा पनि केही जिज्ञासाहरू उठेका छन् । हाम्रो मन्त्रालयको बजेट सिलिङ चालू आर्थिक वर्षको भन्दा करिब ३७ अर्ब घटाइएकाले बजेट बनाउन र सन्तुलन कायम गर्न निकै कठिनाइ भएको यथार्थताबारे माननीयज्यूहरू जानकार हुनुहुन्छ । समय र बजेट कटौतीको चापले सोचेजस्तो सन्तुलन र सबैलाई सम्बोधन गर्न नसकेकोमा दुःख लागेको छ । सकेसम्म सन्तुलन कायम गर्न खोजिएको अनुरोध गर्न चाहन्छु । नेपाल सरकारको निर्णय अनुसार काठमाडौँ निजगढ द्रुततमार्गको निर्माण कार्य नेपाली सेनाद्वारा द्रुतगतिमा अघि बढिरहेको छ । अबको निर्धारित समयमा निर्माण कार्य सक्नका लागि आगामी आर्थिक वर्षमा २२ अर्ब बजेट विनियोजन पनि गरिएको छ । २०८३ साल भित्र निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गरिने कुरा यो सदनलाई म जानकारी गराउन चाहन्छु ।’
मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गराउन र गुणस्तरीय बनाउन आफू लागिपर्ने समेत बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =