सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व लिन्छ : खेलकुदमन्त्री लिम्बु
२०८० असार १० गते

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बुले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताएका हुन् । उनले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको बताए । उनले सरकारले स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट व्यवस्थापन गर्ने पनि बताए ।
उनले भने ‘धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण प्रक्रिया अगाडी बढाएको यो रङ्गशालाको निर्माण कार्य अधुरो छ । अत्यन्त जटिल समस्याग्रस्त छ । यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्नेगरी प्रक्रिया अगाडी बढिरहेको छ । यसको निमित्त शीर्षक हामीले एक लाख मात्रै विनियोजन गरेका छौँ । सरकारले यो स्वामित्व ग्रहण गर्ने त्यसपछि थप बजेट व्यवस्थापन गरेर यो रङ्गशालालाई सम्पन्न गर्नेगरी प्रक्रिया अगाडी बढीरहेको कुरा म अनुरोध गर्न चाहन्छु ।’
उनले विद्यालयमा बालबालिकाको लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको बताए । त्यस्तै खेलकुद गतिविधि सञ्चालन गर्नका लागि १०० वटा खेलकुद सङ्घहरूलाई २ लाख ५० हजारको दरले अनुदान दिनेगरी बजेट व्यवस्थापन गरिएको बताए । मन्त्री लिम्बूले खेलकुद बिमाको नीति तयार गर्न प्रक्रिया अगाडी बढेको पनि उल्लेख गरे ।
२०८० असार १० गते
प्रतिक्रिया
सम्बन्धित








