इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्न तत्काल बन्द गर्नुपर्छ : रामहरी खतिवडा
२०८० असार ८ गते

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् ।
सांसद खतिवडाले पहाडी जिल्लाहरूमा इन्जिनियरिङ सर्भेविना सडक निर्माणको काम हुँदा वृहत् रूपमा पहिरो जानेक्रम बढेर गएकाले त्यस्ता कामलाई सरकारले तत्काल बन्द गर्नुपर्ने बताएका हुन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले डोजर ड्राइभर आफैँ इन्जिनियर बनेर सडक खन्ने काम गर्दा त्यहाँ पहिरो जाने क्रम बढेर गएकाले त्यसलाई रोक्न सरकारले ध्यान दिनुपर्ने बताए ।
सांसद खतिवडाले वर्षातकै कारण पहिरोको जोखिममा परेका ओखलढुङ्गा बिलन्दुका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि सरकारको ध्यानाकर्षण गराए । सोही पहिरोले बगाउँदा सो गाउँका रणबहादुर गुरुङ र उनका परिवारका अन्य ३ जना सदस्यको ज्यान गएको छ । सो घटनाका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै सांसद खतिवडाले सो ठाउँमा उचित राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।
उनले भने, ‘हिजो राति अविरल वर्षाका कारणले ओखलढुङ्गाका चम्पादेवी ८ बिलन्दुमा धामखर्क भन्ने ठाउँबाट पहिरो गएर एकैघरका ४ जना रणबहादुर गुरुङ, उहाँकी श्रीमती शिवमाया गुरुङ, छोरी दिनेश गुरुङ र १५ महिनाकी छोरी कृतिमा गुरुङको मृत्यु भएको छ । त्यहाँ धेरैठूलो खेतबारीको नष्ट भएको छ भने धेरै गाईबस्तु त्यहाँबाट हराई रहेका छन् । सयौँ विग्गा खेत बगाएर लगेको छ । सरकारले दू्त रूपमा विस्थापित हुन लागेको त्यो गाउँलाई बसोबासको व्यवस्था गर्नका लागि म पहल गर्न म माननीय मन्त्रीज्यूहरूलाई अनुरोध गर्न चाहन्छु सभामुख महोदय । यति मात्रै होइन । समयमा रोडहरूको निर्माण नहुँदा र बाटो बनाउने नाममा जहाँ पायो त्यही इन्जिनियर इष्टिमेटविना बाटो निर्माण गर्ने कामले गर्दा पहिरो जाने समस्या वृहत् रूपमा आएको छ । अहिले डोजर ड्राइभर आफैँ नै इन्जिनियर भएर बाटो खन्दाको परिणाम व्यापी रूपमा यो समस्या आएको छ । त्यो बारे पनि सरकारको ध्यान जाओस् भनेर अनुरोध गर्न चाहन्छु । साथै जति नेपाल सरकारले ठेक्कापट्टाबाट काम लगाउँछ । लगाएका कामहरू समयमा ठेकदारले पूरा नगर्दा आषाढ आएपछि खोर्सिन जाने, खन्ने अनि पुर्ने काम भएकाले पहाडी क्षेत्रमा बाढीको प्रकोप, पहिरोको प्रकोप बढेको हुँदा सरकारको त्यतातिर ध्यान जाओस् भनेर अनुरोध गरेँ सभामुख महोदय । ती विस्थापित ठाउँहरूमा सरकारले चाँडोभन्दा चाँडो राहत पुर्याउने र ती विस्थापितहरूलाई स्थापन गर्ने आवश्यक व्यवस्था गरोस् भनेर अनुरोध गर्न चाहन्छु ।’
सांसद खतिवडाले वर्षात् सुरु भएपछि सडक खन्ने र पुर्ने काम नगर्न पनि सरकारसँग आग्रह गरे ।
२०८० असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








