डिजिटल इकोनोमी विकास गर्न सरकार लागिपरेको छ : प्रधानमन्त्री
२०८० असार ८ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिँदै आएपनि नेपालको भौगोलिक अवस्थाका कारण सोचे अनुरूपको विकास हुन नसकेको बताए । उनले सरकारी काम कारबाहीहरू म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको विकास गर्न सम्भव नरहेको जिकिर गरे ।
प्रधानमन्त्री दाहालले रकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभूतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा सरकार केन्द्रित रहेको बताए । उनले सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा समेत जनअपेक्षा अनुरूप सरकारको भूमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रूपले उपयोग गर्नुपर्ने आजको आवश्यकता भएको बताए । सरकारले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको उल्लेख गरे ।
उनले भने, ‘सरकारी काम कारबाहीहरू म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म हामीले खोजेको सुशासनमुखी नेपालको विकास गर्न सम्भव छैन । सरकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभूतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा हाम्रो प्रयासहरू केन्द्रित छन् । पारदर्शिता र जवाफदेहीतासँगै सुशासनका लागि पनि डिजिटल प्रविधि र यसको प्रयोग महत्वपूर्ण छ । सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा समेत जनअपेक्षा अनुरूप सरकारको भूमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रूपले उपयोग गर्नुपर्ने आजको आवश्यकता हो । सरकारले छोटो समयमा नै उपलब्धि हाँसिल गरेपनि यी प्रयास पर्याप्त छैनन् । सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा दिनहुँ जस्तो भइरहेको विकाससँगै प्रविधि, संरचना, सेवा प्रवाहको ढाँचा वा शैलीमा अपडेट भइरहने र त्यही अनुरूप नीतिगत संरचनामा पनि प्रविधि परिवर्तन गरिरहनुपर्ने चुनौती हाम्रो सामुमा छन् । सरकारले डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको छ । राज्यको पहुँच नपुगेको दुर्गम क्षेत्रका सर्वसाधारणलाई समेत यसमार्फत जीवनस्तर उकास्न आवश्यक पहल गरिएको छ । डिजिटल इकोनोमीमा जोड दिने सरकारको अभिप्राय छ ।’
प्रधानमन्त्री दाहालले नेपालको भौगोलिक अवस्थाका कारण पनि सोचेअनुसारको विकास हुन नसकेको बताए । उनले आइसीटिका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु देशका लागि खुसीको कुरा भएको बताए ।
२०८० असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








