दुई वर्षभित्र शतप्रतिशत विद्युत् पुर्याउँछौँ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्रमा शतप्रतिशत विद्युत् बिस्तार गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत् पुर्याउने बताएका हुन् । उनले कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशमा भने यसै वर्ष नै शतप्रतिशत विद्युतिकरणको काम पूरा गर्नेगरी बजेट विनियोजन गर्ने बताए ।
उनले वर्षायाममा विद्युत् आपूर्तिलाई सहज बनाउनका लागि एक महिनाभित्रमा दुईवटा ट्रान्समिसन लाइन थप्न लागेको पनि बताए ।
उनले भने, ‘के मा हामी केन्द्रित भइरहेका छौँ भने आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत् पुर्याउने कुरालाई पहिलो प्राथमिकतामा राखेका छौँ । र त्यो आधारमा कर्णाली र सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरूलाई यही वर्ष नै शतप्रतिशत विद्युतिकरणको काम पूरा गर्नेगरी हामी बजेट विनियोजन गर्छौँ । त्यो स्प्रिटमा गरेको हो खासमा । अहिले कतिपय एकमुस्ट देखिएका छन् । ती एकमुस्ट भएकोलाई पनि हामी विनियोजन गर्दा कर्णाली र सुदूरपश्चिमभित्र दुई वर्ष भित्रमा, बाँकी पाँच वटा प्रदेशमा यही वर्ष नै शतप्रतिशत विद्युतिकरणको काम सम्पन्न गर्नेगरी त्यो लाइनमा गइरहेका छौँ । एक महिनाभित्रमा दुईवटा ट्रान्समिसन लाइन थप्ने काममा मेहनत साथ लागिरहेका छौँ ।’
उनले विद्युत् उत्पादन, व्यापार, पूर्वाधार निर्माण, ट्रान्समिसन निर्माण र डिस्ट्रीब्युसन सिस्टमलाई अपग्रेड गर्ने कामलाई एकीकृत रूपमा गर्न लागिएको जानकारी दिए ।








