बजेट नसच्याईकन पारित हुन सक्दैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विगतका कमी कमजोरीहरूलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताए ।
उनले आदिवासी, मधेसी मुद्दाहरू सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताए । उनले समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचारहरू आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाति, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको बताए ।
उनले भने ‘हामीले समाजवादी मोर्चा घोषणा गरेका छौँ । यी लक्ष्यहरू बोकेको समाजवादी मोर्चाले निश्चित रूपमा विगतका कमी कमजोरीहरूलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका साथसाथै सामाजिक न्यायसँगै आदिवासी, मधेसी लगायतका जुन राष्ट्रिय मुद्दाहरू छन्, केही मुद्दाहरू सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयास गर्नका लागि नै त्यो निर्माण भएको हो । जुनकुरा अस्ति मात्रै जारी भएको अवधारणा पत्रका उद्देश्यले स्पष्ट हुन्छ । बीचमा फलानो खत्तम भयो, मधेसका मुद्दा छोड्यो भन्नुभएको छ, यो गलत छ, झनै ती मुद्दा बलियो भएका छन् । बाबुरामलाई हामीले छोडेको पनि होइन, समातेको पनि होइन । मोर्चामा आएको कहिले पनि देखिएन मोर्चामा आएको । यो मोर्चा डेढ वर्षदेखि तयारी हुँदै आएको हो । हामीले उहाँ आउनका लागि बाटो राखिदिएका छौँ ।’
अध्यक्ष यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरूसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा बजेट पारित नहुने बताए । उनले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै बजेट सांसदबाट पास हुने बताए । उनले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको बताए । उनले बजेट सच्याएर अघि बढ्ने सहमति भएको बताए ।
उनले भने ‘अहिलेको बजेट एकलौटी ढङ्गले गठबन्धनमा रहेका दलहरूसँग छलफल नै नगरीकन यो बजेट ल्याइएको छ । बजेटले पूरै मधेस लगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसकारणले यसलाई सच्याउनुपर्छ भनेर सुधार गर्नुपर्छ भनेर हामीले भनेका छौँ । नसच्याई बजेट पास हुन कठिन छ । त्यसकारण सच्याउनु पर्छ । हाम्रो पार्टी यो बजेटमा न्यायोचित वितरण भएन, देशमा चालु रहेका योजनालाई समेत अवरोध हुनेगरी जुन ल्याइएको छ । यसलाई सुधार्नुपर्छ, सच्याउनुपर्छ । बजेट अब सच्चिएर अघि बढ्छ ।’
अध्यक्ष यादवले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको बताए । उनले आफ्नै देशका नागरिकलाई नागरिकता दिनबाट वञ्चित गर्ने कार्य असंवैधानिक कार्य भएको बताए ।








