गण्डकीका सांसदहरूले भने– ‘शून्य समयमा राखिएका माग पूरा भएन’

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यले समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सदस्यले बाढीलगायतका विपत्ति, मलबीउको अभाव लगायतमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा प्रदेशसभा सदस्य श्यामराजा महतले तनहुँको शुक्लागण्डकीको दुलेगौँडाबाट साँखेसम्मको बाटो बाढीपहिरोका कारण चारपाँच ठाउँमा भत्केपनि सफा नगर्दा आवतजावतमा समस्या भएको बताए ।

प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यसअघि शून्य समयमा पटक–पटक म्याग्दी जिल्ला अस्पताल अलपत्र, बेनी जोमसोम सडक निर्माणमा ढिलाइ, मल बीउको अभाव लगायतका कुरा उठाउने गरेपनि त्यसको आजसम्म कुनै जवाफ नआएको जनाउँदै शून्य समयको औचित्यबारे प्रश्न गरे ।

प्रदेशसभा सदस्य चम्पादेवी खड्काले साँढे दुई दशक अघि ट्र्याक खुलेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको बागलुङ उपल्लाचौरदेखि बीउ, घोडाबाँधेसम्मको सडक दुई वर्षमा कालोपत्र हुनुपर्नेमा पटक–पटक म्याद थप्दा पनि सातवर्षसम्म पनि कालोपत्र नभएको जनाउँदै सो ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जान सरकारको ध्यानाकर्षण गराए ।

अर्का सदस्य बेदबहादुर गुरुङले गत जेठ ३१ र ३२ तथा यही असारको ३ र ४ गतेको बाढीका कारण मादीको ताङतिङ—सिक्लेस बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानी तथा बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको जनाउँदै सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा भक्तबहादुर कुँवर, सुधीरकुमार पौडेललगायतले समसामयिक विभिन्न विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =