समाज परिवर्तनका लागि तयार रहेकाे मतपत्रबाट जाहेर भयो : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन् । उनले त्यसको स्पष्ट सङ्केत देखिइसकेको बताए ।

उनले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रूपमा बितेको बताए । उनले रास्वपालाई जनताले आशा र भरोसाको रूपमा लिएको बताए ।

उनले भने ‘अत्यन्त सकारात्मक, अत्यन्त ऊर्जावान, नेपाली जनताले एउटा आशा र भरोसाका रूपमा हेरेको यात्राको रूपमा मैले पाएको छु । सुरुवात गर्दाखेरि हामीलाई विश्वास त थियो तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको त्यतिधेरै हेक्का थिएन । समाजले परिवर्तन खोजेको छ भन्ने कुराको जानकारी त विभिन्न माध्यमबाट हामीलाई थियो । तर साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जायर गर्छ भन्ने कुराको एउटा स्पष्ट सङ्केत, हाम्रो भाषामा घण्टी बजी नै सकेको छ । यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो । यसलाई अत्यन्त सकारात्मक रूपमा हेरेको जानकारी गराउँछु ।’

सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताए । उनले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए । दुई जनालाई पार्टी प्रवेश गराउन सके खुसीको कुरा हुने उनको भनाई छ ।

उनले भने ‘यो त राम्रो हुन्थ्यो त्यस्तो साथीहरूलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो । त्यो त हाम्रो चाहाना छदैछ । चाहना अनुरूप अन्य साथीहरूले पनि त्यसैगरी सोचिदिनु भयो भने त, हाम्रो तर्फबाट त सय प्रतिशत सकारात्मक छँदैछौँ नि । सम्बन्धका हिसाबले पनि हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ । उहाँहरूको कामको हिसाबले पनि मैले त निरन्तर रूपमा उहाँहरूको कामको प्रशंसा गरेकै छु । चुनाव लड्दादेखि सघाएदेखि अहिलेसम्म निरन्तर उहाँहरूको राम्रो काममा सघाउने काममा निरन्तरता दिएकै जस्तो लाग्छ मलाई । त्यो आफैँमा राम्रो सङ्केत बन्नसक्यो र हुन सकेछ भने हाम्रो लागि त्यो खुसीको कुरा हुनेछ ।’

सभापति लामिछानेले आफूहरू सङ्गठन निर्माण र सुदृढीकरणमा लागिरहेको बताए । कार्यक्रममा बोल्दै आजै पार्टी प्रवेश गरेका अनिल केशरी शाहले पार्टी सभापति रवि लामिछाने र आफ्नो सोच मिलेको कारण आफू पार्टी प्रवेश गरेको बताए । उनले देशमा नेतृत्वको अभाव रहेको कुरा आफूले महसुस गरेको भन्दै नेतृत्व विकासको सिप प्रयोग गर्नका लागि पार्टीमा आएको बताए ।

नेता शाहलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको सभापति लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =