प्राकृतिक विपदबाट बच्न एकीकृत बस्ती बनाऔँ : सांसद पौडेल
२०८० असार ४ गते

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपदबाट बच्न एकीकृत बस्ती बनाउनुपर्ने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले प्राकृतिक विपदबाट बच्नका लागि एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले कुनै जमिनमा विद्युत्, पानी र यातायातको सुविधा पुर्याएर मात्रै त्यहाँ बस्ती बनाउनुपर्ने बताए ।
उनले प्राकृतिक विपदबाट सिर्जित समस्याहरूलाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीको सिफारिसमा तुरुन्त पीडितलाई उद्धार, राहत र पुनर्स्थापना गर्न सकिने संयन्त्र बनाउनुपर्ने बताए ।
उनले भने ‘गाउँका डाँडाकाँडामा भएका बस्तीहरूलाई कुनै जङ्गलसँग अल्झिएको जमिन छ भने त्यहाँ ल्याएर बस्ती बसाएर विद्युत्, पानी र यातायात पुर्याउने कुरा अगाडी बढायौँ भनेदेखि एकीकृत बस्तीलाई हामी अगाडी बढाउन सक्छौँ । एउटा त्यस्तो प्रकारको अस्पतालमा गएर इमर्जेन्सी वार्ड निर्माण गरेजस्तै बाढी पीडित र प्राकृतिक आपद्जन्य विषयहरूलाई तत्काल सम्बोधन गर्नको निम्ति त्यसप्रकारको मन्त्रालयमा एउटा प्रणालीको व्यवस्था गरियोस् । जहाँ प्रमुख जिल्ला अधिकारीले सिफारिस गर्न बित्तिकै राज्यका निकायले त्यहाँ गएर तुरुन्त राहत दिनेकाम, जनतालाई राज्यको उपस्थितिको अनुभूति दिलाउने काममा अगाडी बढ्न आवश्यक छ । त्यसो गरियो भने बाढी, पहिरोबाट पीडितलाई व्यवस्थित गर्नसक्छौँ ।’
सांसद पौडेलले समाज अराजकतातिर गएको भन्दै असत्य र भ्रामक समाचार सम्प्रेषण गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने पनि बताए ।
उनले भने ‘समाज अराजकतातिर गएको छ । त्यसको निम्ति छिटोभन्दा छिटो कानुनी व्यवस्था गरेर असत्य भएको, प्रमाणित नभएको समाचार र कसैलाई बदनाम गर्न ल्याउने त्यस प्रकारका समाचारहरूलाई नियमन गर्ने, कानुनी दायराभित्र ल्याउनेगरी छिटोभन्दा छिटो प्रचलित कानुनलाई सक्रिय बनाएर वा कानुन आवश्यक पर्याे भने कानुन बनाएर अगाडी बढाउनेगरी सञ्चार मन्त्रालयले त्यो प्रकारको भूमिका खेलोस् ।’
उनले दिगो विकास लक्ष्यलाई भेट्नेहरू सरकारको बजेट तथा मन्त्रालयका काम, कारबाहीहरू अगाडी बढ्नुपर्ने बताए ।
२०८० असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








