सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्याे : उपप्राध्यापक चलाउने
२०८० असार ४ गते

काठमाडौँ । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमवार अदालतभित्र होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि उनले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको बताए । उनले देशमा न्याय मरेको र मानवता हराएको बताए ।
उनले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गरे । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय गरेपछिको आफूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको आरोप उनको छ ।
उनले भने ‘म अदालतको चक्कर काटेको ५ वर्ष भयो । यो देश गुण्डाहरुले राज गरेको देश रहेछ । यहाँ न्याय पनि केही पाइँदो रहेनछ । सरकारले सत्य, न्याय, मानवता मारेको छ । म न्याय खोज्न कहाँ जाऊँ ? अदालतमा दर्ता भएको मुद्दा सरकारले फिर्ता लियो । अब म न्याय खोज्न कहाँ जाऊँ ? त्यसले म समाजमा न्याय खोज्न आएँ । मेरा सबै बाटो बन्द भए । जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ । तर सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ । ममाथि सङ्गठित अपराध भएको थियो । ममाथि हमला भएको थियो । उनीहरू विद्यार्थी थिएनन् ।’
आफूलाई न्याय दिनुको साटो सरकारले अदालतलाई बाइपास गरेर सुनुवाइ हुनुभन्दा दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिनु उचित नभएको बताए । उनले अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिनु राजनीतिको अपराधीकरण भएको बताए ।
२०८० असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








