मृत्युभन्दा ठुलो डर मरिन्छ कि भन्ने हो, त्यो पीडाले सधैँ मारिरहेको हुन्छ : मनिष झा

गृहमन्त्रीलाई रास्वपाका झाको कटाक्ष- उहाँ मोर्चा बनाउन व्यस्त भएर होला बाढीपहिरोको तयारीबारे जानकारी गराउनु पाउनुभएको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

वर्षातका कारण पूर्वी पहाडी जिल्लाहरुमा विपद्मा परी उपचार नपाएर नागरिकहरूको ज्यान समेत गई रहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने समाजवादी मोर्चा निर्माणमा लागेको भन्दै आपत्ति समेत जनाए ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले वर्षातका कारण पूर्वी पहाडी जिल्लामा ठुलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका मन्त्रीहरू संसदमा बेखवर रहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सांसद झाले बाढि र पहिरोका कारण नागरिकहरूमा मरिन्छ कि भन्ने डर बढदै गइरहेको तर सरकारले बेवास्ता गरिरहेको आरोप समेत लगाए ।

उनले भने, ‘मृत्यु भन्दा नि ठुलो डर मरिन्छ कि भन्ने हो । त्यो पिडाले सधैँ मारिरहेको हुन्छ । अहिले पहाडको केही जिल्लाहरूलाई त्यही त्रासले मारिरहेको छ । र, केही व्यक्तिहरू प्राथमिक उपचार नपाएर पनि हिजो ताप्लेजुङमा सुरेश राई नाम गरेको एक व्यक्तिको मृत्यु भयो । त्यसै गरी सबै जोखिमपूर्ण अवस्थामा रहेको छ । आज पहाड जोखिममा छ भने भोली तराई र मधेस जोखिममा हुनेछ । तर हामीले गृहमन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाइरहेका छैनौँ । सायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ । अर्को, हाम्रो प्रधानमन्त्री लगायत अरू व्यक्तिहरूको जिम्मेवार पदमा रहेका उहाँहरूको उपस्थिति के हुँदैछ । हामी जनप्रतिनिधि हौँ । हामीले पनि जवाफ दिनु पर्नेछ । तर हामीले प्रश्न सोध्ने कसलाई ? जवाफ कहाँबाट अपेक्षा गर्ने ? हामी जवाफ चाहन्छौँ । यसका लागि अनुरोध गर्दछौँ ।’

सांसद झाले आफूहरूले विपद् व्यवस्थापनका बारेमा जनतालाई जवाफ दिनुपर्ने भएकाले सरकारले यसको बारेमा संसदलाई जानकारी गराउन ढिलाइ गर्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =