अनुमति नै नलिई भारतीयले नेपाली भूमि नापजाँच गरेकाेबारे छानबिन हुनुपर्छ : सांसद अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कन्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले यही असार १ गते भारतीय प्राविधिकहरूको टोलीले एकतर्फी रूपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरुले सुइँकोसमेत नपाएको भन्दै आपत्ति समेत जनाए ।
उपसभापति अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रूपमा नापजाँच गर्ने काम सामान्य र स्वाभाविक नभएको उल्लेख गर्दै त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाइ गर्न नहुने बताए ।
उनले भने ‘म आज भारतीय पक्षले नेपालको भूमि अनधिकृत रूपमा नापजाँच गरेको विषय यो सदनलाई जानकारी गराउन गइरहेको छु । असार १ गते भारतीय प्राविधिकहरूको टोलीले इन्डियन नेशनल हाईवे सर्भे गर्ने भन्दै कञ्चनपुरको भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे । सर्भेका सामानसहित आएका ती प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईको समेत पाएनन् । के उनीहरूलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? सम्माननीय सभामुखमार्फत म सरकारलाई प्रश्न सोध्न चाहन्छु । बरु सुरक्षाकर्मी भन्दा त्यहाँका स्थानीय धेरै जागरूक र सचेत देखिए सभामुख महोदय । उनीहरूले गलत काम भईरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रूपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वाभाविक मान्न सकिँदैन सभामुख महोदय । त्यसैले त्यसको सत्यतथ्य छानबिनका लागि म सम्माननीय सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । ’
उपसभापति अर्यालले सीमा क्षेत्रमा खटाइएका सुरक्षाकर्मीहरूलाई उचित परिचालन गर्न पनि सरकारलाई सचेत गराए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *