भ्रष्टाचारमा तानिएका नेताहरुलाई पार्टीले प्रतिरक्षा गर्नु हुन्नः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका काँग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दवाव बढिरहेका बेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने आफ्नो अडान राखे ।

शनिबार काठमाडांैमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले काँग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेताहरुलाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने बताए ।

नेताहरुलाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलहरुले त्यसले लिएको निष्कर्षलाई मानेर अघि बढनुपर्ने उनको भनाई थियो । महामन्त्री शर्माले राजनीतिक दलहरुले भ्रष्टाचारको आरोपमा परेका नेताहरुलाई प्रतिरक्षा नगरी स्वतन्त्र ढंगले सम्बन्धित निकायलाई छानविन गर्न दिने भनेको मुलुकको सुशासनका लागि महत्वपूर्ण कदम हुने पनि स्मरण गराए ।

उनले भने, ‘मेरो पार्टीको अमूक नेता चाँही निर्दोष हुनुहुन्छ, फसाउन पाईदैन खोजिदैछ भनेर हामी कसैले भन्न पाउँदैनौं । यो देशमा कानुन छ । यो देशमा संविधान छ । यो देशमा अख्तियार छ । यो देशमा अदालत छ । तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ । लिएर गएर पार्टीको नेतृत्व गराऊ । अथवा तिम्रो दलका नेता दोषी देखिनु भयो । नख्खु जेलमा भेटन जाऊ भन्ने कुरा कसले गर्छ ? भन्दा अदालतले गर्छ । त्यो कर्ममा काँग्रेस, एमाले, माओवादी जस्ता दलले कसैले प्रतिरक्षा नगर्ने । र, कोही पनि निर्दोष नफसून । र, कोही पनि दोषी नउम्किउन भन्ने मनोविज्ञान बनाउने कुरा पनि सुशासनको एउटा कदम हुन्छ ।’

महामन्त्री शर्माले मुलुकको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहो¥याएर नहुने, प्रधानमन्त्री दुई पटक भन्दा बढि बन्न नहुने व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत गरे ।

त्यसो गरियो भने त्यसले शासन व्यवस्थामा सुधारका प्रक्रियालाई अघि बढाउने र सक्षमहरुले मुलकको जिम्मेवारी सम्हाल्दै अघि बढने अवस्था आउने उनको बुझाई थियो ।

महामन्त्री शर्माले भने, ‘एक पटक राष्ट्रपति भएपछि अव दोहो¥याएर नहुने सिष्टममा जाऊ । दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक नपाउने बनाऊ । ३ पटक भएपछि चार पटक नपाउने बनाऊ । ४ पटक सांसद भएपछि विदा लिने सिष्टम बनाऊ । जतिसुकै योग्य व्यक्ति भएपनि यो भन्दा बढि जिम्मेवारी नलिऊ । व्यक्ति जतिसुकै योग्य होस् । यसो गरेर मात्रै शासक र शासन व्यवस्थालाई सुधार गर्न जरुरी छ ।’

महामन्त्री शर्माले तीन पटक भन्दा बढि मन्त्री हुन नपाउने, चार पटक भन्दा बढि सांसद बन्न नपाउने व्यवस्था पनि मुलुकको शासन सुधारका लागि अति आवश्यक रहेको दावी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *