औद्योगिक लगानीका लागि कानुन निर्माण गर्न सरकार उदासिन : दामोदर भण्डारी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी गर्नका लागि आवश्यक कानून निर्माण गर्न पनि सरकारले बेवास्ता गरिरहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो दावी गरेका हुन् ।

सांसद भण्डारीले नेपाल आयोग निगमजस्तो संस्थासमेत कानूनको अभावमा गठन आदेशको भरमा चलिरहेको उल्लेख गर्दै त्यसमा पनि सरकारले ध्यान दिन नसकेको बताए । उनले सरकारले एलपी ग्याँसमा दिएको अनुदानमा गरिवलाई प्राथमिकता दिन नसकेको स्पष्ट पारे ।

सांसद भण्डारीले सरकारले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रको विकासमा कुनै प्राथमिकता नदिएको जिकीर समेत गरे । उनले भने ‘आज यहाँ एउटा लगानीकर्ताले जग्गा किनेर उद्योग संचालन गर्ने अवस्था छैन । त्यसैले औद्योगिक क्षेत्रको विकासका लागि उद्योगको प्रवद्र्धन गर्नका लागि, लगानीमैंत्री वातावरण निर्माणका लागि आज कानूनको अभाव छ । हामी कहिले कानून निर्माण गर्छौं । यो कुरामा पनि उद्योग मन्त्रालय सरकार पूर्ण रुपमा बेवास्ता गरिरहेको छ । कुनै ठोस नीति, कार्यक्रम र योजना आउन सकिरहेको छैन । हामी आज नेपालका आयल निगमजस्तो संस्था अत्यावश्यक सेवा प्रदान गरिरहेको छ । तर, यो आयल निगमजस्तो संस्था आज गठन आदेशबाट संचालन भएको छ । कुनै ऐन निर्माण गर्न सकिरहेको छैन । किन ? सरकारसँग इच्छा शक्ति नभएर हो ? आज आयल निगमबाट संचालित एलपी ग्याँस आज आभारभूत जनताले त्यही मूल्यमा पाईरहेका छन । सरकारले दिएको अनुदान आज ठूला घरानाले पनि त्यही मूल्यमा पाईरहेका छन । र, राज्यले एउटा सिलिण्डरमा झण्डै साँढे ३ सय रुपैयाँ अनुदान दिएको छ । यसरी नेपालको उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र आज तहसनहस छ । सरकारको कुनै प्राथमिकतामा रहेन । त्यसैले अहिलेको यो सरकारको नीतिप्रति आफ्नो असहमती जाहेर गर्दछु ।’

सांसद भण्डारीले सरकारले प्रस्तुत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शिर्षकप्रति असहमती जनाउँदै खर्च कटौतिको प्रस्ताव गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =