पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको माग

पोखरा । सन् २०२७ मा १९ वर्ष मुनिका महिला क्रिकेटको वल्र्डकप बंगलादेशसँग मिलेर नेपालले आयोजना गर्दैछ । त्यसका लागि सरकारले आवश्यक पूर्वाधार निर्माणको तयारी गरेको छ । पोखराले पनि न्यूनतम ३ वटा मैदान मागेको छ ।

तर संघ सरकारले पोखरामा मैदान बनाउने बजेट दिएको छैन । क्रिकेट सम्बन्धी कार्यक्रम प्रदेश सरकारले हरेक वर्ष बजेटमा राख्छ तर कार्यान्वयन हुँदैन । प्रदेश सरकारको गौरवको आयोजनामा क्रिकेट मैदान निर्माण पनि छ । बर्सेनि बजेट विनियोजन भएर खर्च नभई फ्रिज भइरहेको छ ।

यसको प्रमुख कारण उपयुक्त जग्गाको पहिचान नहुनु हो । प्रदेश सरकारले पोखरा २१ मा खोलाको छेउमा जग्गा पहिचान गरेर डीपीआर बनाएको छ । रंगशाला निर्माणमा भन्दा त्यसको संरक्षणमा धेरै खर्च लाग्ने भएपछि सरकारले उक्त आयोजनाबाट लगभग हात झिकेको छ । डेढ अर्ब भन्दा बढी लागतमा रंगशाला निर्माणको प्रस्ताव गरिएको थियो । त्यसपछि प्रदेश सरकारले पोखरा रंगशालाभित्रकै क्रिकेट रंगशालालाई व्यवस्थित गर्ने योजना बनायो ।

संघ सरकारले उक्त रंगशाला संघ मातहत रहेको भन्दै अवरोध ग¥यो । अहिले प्रदेश सरकारले अर्को जग्गा खोजी गरिरहेको छ । क्रिकेटका जानकारहरूले केही जग्गाहरू सुझाएका छन् । सरकारले त्यसको अध्ययन गर्नेगरी नीति तथा कार्यक्रम र बजेटमा समेत व्यवस्था गर्दैछ । यही सन्दर्भमा क्रिकेट संघ कास्कीले पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि सरकारलाई दबाब दिएको छ । पोखरामा विश्वकप क्रिकेट प्रतियोगिताको बन्द प्रशिक्षण, विश्वकप छनोट एसिया रिजनमा विजयी अण्डर १९ को बन्द प्रशिक्षण, साग महिला क्रिकेट प्रतियोगिता, नेपाल र मलेसियाको मैत्रीपूर्ण खेल भैसकेको छ । बेलायतको मेरिलिबोन क्रिकेट क्लबले सन् २०१५, २०१९ र २०२३ मा मैत्रीपूर्ण खेल खेलेको छ ।

नियमित रूपमा पोखरा प्रिमियर लिग हुन्छ । क्रिकेट मार्फत पोखराले अन्तर्राष्ट्रिय ध्यान तानेको छ । तर सोही अनुसार पूर्वाधार छैन । मुख्यमन्त्रीमा सुरेन्द्र राज पाण्डे नियुक्त भएपछि क्रिकेटलाई निकै जोड दिए । उनले हरेक भाषण र कार्यक्रमहरूमा क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । कास्की क्रिकेट संघले रंगशाला सहित क्रिकेट विकासका लागि विभिन्न ११ बुँदे मागपत्र मुख्यमन्त्रीलाई बुझाएको हो । पोखरा क्रिकेट मैदानको स्तरोन्नति र कर्मचारी व्यवस्थापनमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहित वैकल्पिक मैदान सहित ३ वटा मैदान निर्माण गर्नुपर्ने, राष्ट्रिय प्रतियोगिताको आयोजना गर्नुपर्ने, जिल्ला तहमा एकेडेमी निर्माण गरी प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने माग छ ।

यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीको भविष्यलाई ख्याल गरी रोजगारीको व्यवस्था, उचित पुरस्कार र निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्नुपर्ने, विद्यालय स्तरीय प्रतियोगिता सञ्चालन गरिनुपर्ने, अन्तर्राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने वातावरण बनाइनुपर्ने, नेपाल स्थित कूटनीतिक नियोग र सरकार प्रमुखबीच मैत्रीपूर्ण खेल आयोजना गरिनुपर्ने, अन्तर्राष्ट्रिय उडान भर्ने जहाज कम्पनीलाई पोखराबाट उडान भर्न अनुरोध गर्ने र उनीहरूकै सहभागितामा कर्पोरेट क्रिकेट आयोजना गरिनुपर्ने अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । मुख्यमन्त्री पाण्डेले क्रिकेटको विकासमा सरकार प्रतिबद्ध रहेको बताए ।

‘पोखरालाई क्रिकेट सहित खेलकुदको हव बनाउन हामी तत्पर छौं । तर हामीसँग आफ्नै जग्गा छैन । पहिले जग्गाको पहिचान गरौं,’ उनले भने, ‘आगामी वर्ष जग्गा पहिचान गर्ने र त्यसको प्रतिवेदन तयार गर्ने । त्यसपछि निरन्तर रंगशाला निर्माणको काम थाल्ने । प्रदेश सरकारले त्यसको अपनत्व लिन्छ ।’ रंगशाला भित्रको क्रिकेट रंगशाला संघ सरकार मातहत भएकोले आफूहरूलाई काम गर्न समस्या परेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *