रास्वपामाथि दलहरूको घेराबन्दी बढ्यो : रवि लामिछाने (भिडिओ)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबै खाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पु¥याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको बताए । उनले दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यस बेला संसदमा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उनको ठहर छ । उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए । उनले वैवाहिक अंगीकृतका हकमा पनि यस नागरिकता विधेयकले बोलोस् भन्ने चाहे पनि संसदमा नलगीकन प्रमाणीकरण पठाउनुले सरकारको बाटो स्पष्ट भएको बताए । आफ्नो पार्टीले नेपाली नागरिकले नागरिकता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको बताए ।

लामिछाने भन्छन्, ‘तपाईँहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् । तर त्यो अनुमानलाई बाधा पु¥याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ । त्यसमा हामी चनाखो हुँदै जानुपर्छ । नागकिता विधेयकमा हामीले त्यति बेला नै तत्कालीन राष्ट्रपतिले नागरिकता विधेयक रोक्दा हामीले संविधान विपरीतको काम भयो भनेका थियौँ । तर दलहरूको अकर्मण्यता पनि भयो सही बाटोबाट सही ढंगबाट ढोकाबाट नल्याइसकेपछि प्रक्रिया नपु¥याइसकेपछि यस्तै हो भनेका थियौँ । पार्टी निर्वाचनमा नपुग्दै, त्यसको निरन्तरतामा हामी छौँ । हामीले वैवाहिक अंगीकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौँ । हामीले सही ढंगबाट आओस् भनेका छौँ । हामीले नेपाली आमाका छोराछोरीले नागरिकता नपाउन् भनेर बोलेकै छैन । जन्मसिद्ध नागरिकले नागरिकता पाउनुपर्छ भनेका छौँ । महिलामाथि विभेद छ, प्रावधान राखेर ल्याइएको छ, अपराधकारी कुराको सम्बोधन हुनुपर्छ । संसदमा ल्याएको भए दुधको दुध, पानीको पानी हुन्थ्यो, तर जानाजान कसैले न कसैले यसमा मुद्दा हाल्छ भन्ने जानेर हो की, जानाजान यस्तोबाट ल्याइयो ।’

सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताए । उनले २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गरे । उनले सबै ठाउँबाट पार्टीलाई जिताउनका लागि आफ्नो पार्टीले काम थालिसकेको पनि जिकिर गरे ।









