सत्ता टिकाउनका लागि रेशम चौधरीलाई आममाफी दिइयो : डा. शेखर कोइराला

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् । दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै उनले आक्रोश समेत व्यक्त गरेका हुन् ।
शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातराख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए । निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी सरकारले सो निर्णय गरेकाले आफूहरूले विरोध गर्नु परेको उनको तर्क थियो । नेता कोइरालाले लोकतन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने पटकपटक दोहोर्याएका हुन् ।
नेता कोइरालाले भने, ‘अहिले निर्वाचन आयोगलाई हामीहरूले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनु पर्छ भनेर भनिराखेका छौँ । र, हुन पनि पर्छ । निर्वाचन आयोगलाई सिडिओको मातहतमा लगेर एउटा कोठामा लगेर राख्ने । त्यसले लोकतन्त्र मजबुत हुन सक्दैन । लोकतन्त्र मजबुत हुनका लागि निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ भन्ने कुरा पनि तपाईँहरू माझमा राख्न चाहन्छु । सुशासन, पारदर्शिता, जबाफदेहिता र उत्तरदायित्व यी कुराहरू कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हुन्छ । हामी कहाँ दण्डहीनताको पनि कताकता बढ्दै गएकोमा मलाई चिन्ता लागिरहेको छ । अहिले भर्खरै हेर्नुस् । तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनु भयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यी कुराहरू अत्यन्त गम्भीर हुन्छन् भोलीका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरू गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ । हामीले राजनीतिक स्वतन्त्रता छ पायौँ । संविधान पायौँ नि । तपाईँहरू, हामीहरू सबै खुसी छौँ । तर आर्थिक, सामाजिक, सांस्कृतिक विविधताहरू अहिले पनि अप्ठ्यारोमा परेका छन् ।’
उनले काँग्रेस कमजोर भएको हीन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अतीतबाट सिक्ने सके काँग्रेस कमजोर हुने कुनै कारण नरहेको नेता कोइरालाको भनाई छ ।








