वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा ध्यान दिएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले सबैभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हित र रक्षाका लागि दिएको बताएका हुन् । उनले विदेशमा रहेका नेपालीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने काम अगाडी बढाएको बताए ।
त्यस्तै विदेशस्थित नेपाली दूतावासहरूमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिने व्यवस्था, वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरूको उद्धार लगायतका महत्त्वपूर्ण कामहरू अगाडी बढाएको पनि उनले उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग वा मृत्यु भएका नागरिकका परिवारका लागि शिक्षा र स्वास्थ्यमा राज्यले अभिभावकिय भूमिका खेल्ने बताए । उनले भारत र तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोग्दै आएका समस्या र दुःख, कष्टको सहजीकरण र सम्बोधन गर्न सरकार गम्भीर रूपले लागिरहेको जानकारी गराए ।
उनले भने ‘म वैदेशिक रोजगारीमा भएका लाखौँ नेपाली दिदीबहिनी दाजुभाइहरूलाई पनि विशेष रूपले अपिल गर्न चाहन्छु, यहाँ कता–कता नकारात्मक अराजकता, अस्थिरता पैदा गर्ने तत्व र प्रवृत्तिहरू पनि छन् । हामी कसैले पनि देशको एकतालाई कमजोर पार्ने, भएको प्रगतिशील परिवर्तनलाई कमजोर पार्ने, देशमा निराशा र असन्तुष्टिको प्रचार गर्ने त्यो प्रवृत्तिलाई होइन, देशको एकताका पक्षधर, देशभक्तहरू र देशको निम्ति समर्पित भएर लागेका विचार, प्रवृत्तिलाई सहयोग गर्न म अपिल गर्न चाहन्छु । मैले आफ्नो कार्यकालमा सबभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हित रक्षामा दिने कोशिस गरेको छु । अहिले विदेशमा रहेका नेपालीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता जसबाट लाखौँ नेपालीहरूको भविष्य सुनिश्चित हुन्छ भनेर मैले निर्णय गरेर अगाडी बढाएको कुरा जानकारी गराउँछु । विदेशस्थित नेपाली दूतावासहरूमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिने व्यवस्था वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरूको उद्धार लगायतका महत्त्वपूर्ण निर्णयहरू र कामहरू अगाडी बढाइएको छ । यो विदेशमा रहेका नेपालीहरूको हक, हितको रक्षासँग सम्बन्धित छन् । वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग वा मृत्यु भएका नागरिकका परिवारका शिक्षा र स्वास्थ्यमा राज्यले अभिभावकिय भूमिका खेल्न, भारत र तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोग्दै आएका समस्या र दुःख, कष्टको सहजीकरण र सम्बोधन गर्न सरकार गम्भीर रूपले लागिरहेको जानकारी गराउन चाहन्छु ।’
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको सन्दर्भमा उल्टोपाल्टो पारेर भ्रम फैलाउन लागिएको भन्दै सचेत हुन आग्रह समेत गरे । उनले जसले देशमा राजनीतिक परिवर्तन ल्यायो उसले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने बताए ।
उनले भने ‘जुन शक्ति र बिचारले यति ठूलो परिवर्तन नेपालमा सम्भव तुल्यायो । अब त्यही विचार, त्यही प्रवृत्ति र शक्तिले मात्रै राष्ट्रलाई एकताबद्ध गर्न सक्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नसक्छ । नयाँ योजना र भिजनसहित देशलाई लानसक्छ भन्नेकुरा हामीले साबित गर्न सकेनौँ भने देश दुर्घटनामा पर्ने खतरा छ ।’
उनले वैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरूका लागि सबै स्थानीय तहहरूमार्फत अवसरहरूको सिर्जना गरिने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =