अहिलेसम्म २२ अर्ब बागमतीमा बग्यो, उपलब्धि शून्य : निशा डाँगी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले अहिलेसम्म २२ अर्ब रुपैयाँ बागमतीमा बगेको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले बागमतीका नाममा राजनीति मात्रै भएको बताएकी हुन् ।
उनले खोली नदी संरक्षणका नाममा बजेट सक्काउने काममात्रै भएको बताइन् । ‘बागमती र अन्य नदीका नाममा अझै कति राजनीति र पैसा बगाउने काम हुन्छ ? नदीहरू दुर्दशा मात्रै होइन काठमाडौँ उपत्यकाको साझा अनुहार हो,’ उनले भनिन्, ‘यसले नेपाली राजनीतिकै अनुहार चित्रण गर्छ । जसलाई सङ्लो बनाउन निकै कठिन छ, इमान्दाररीता नभएर ।’
नदी खोला संरक्षणका नाममा बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ । ‘पशुपति क्षेत्र लगायत बागमती नदीको दुर्दशा बदल्ने भनेर २२ अर्ब पैसा बागमतीमा बगिसकेको छ । बर्सेनि २ अर्ब बजेट जाँदा पनि जस्तोको जस्तै छ,’ उनले अगाडि भनिन्, ‘खानेपानी ऐनले मलमूत्र खोलामा मिसाउनेलाई ३ महिनादेखि ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । यो दण्डको भागिदार को हो ?’








