अहिलेको बजेट सुतेर बसेको अझिंगर जस्तो : केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताए ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाई थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दाबी समेत गरे । बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै उनले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताए । त्यस अवसरमा ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्न भन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिए ।

उनले भने, ‘हामीले निर्माण गरेको संविधानले प्राप्त गर्ने लक्ष्य राखेको समाजवाद उन्मुख अर्थ व्यवस्थाको मार्गबाट बजेट विचलित भएको छ । कसले मन परायो, कसले मन पराएन ? किन भयो, भएन ? संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवाद उन्मुख अर्थतन्त्र भनेको पुँजी उन्मुख होइन, मानव उन्मुख हो । घराना उन्मुख होइन, समाज उन्मुख हो । ठुलालाई पैसा कमाउने अवसरमाथि अवसर थप्ने होइन । आम जनताको जीवनस्तर माथि उठाउने हो । उत्पादन, उत्पादकत्व वृद्धि गर्ने नाममा पुँजीको केन्द्रिकरण होइन । वितरणमा न्यायोचिततासहितको बजेट हो । त्यसमा विमुख छ । त्यसलाई छोडेको छ । नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति बजेट विल्कुल विमुख छ । यसले अकर्मण्यता र शिथिलताले ग्रसित छ । यसमा भिजनहीनता छ । यसले देख्दैन परसम्म । चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोशेराको जस्तो छ बजेटको । यसले देख्दैन, भिजन छैन । पोलिसी छैन । त्यस कारण यसमा अकर्मण्यता छ । र, शिथिलता छ । परिणाममा हेरियोस् म केही भन्दिन । माननीयजीहरूले पछि बहस गर्ने क्रममा जवाफ त मलाई दिन सक्नु हुन्छ । परिणामबाट, उपलब्धिबाट जवाफ दिनुस् म सत्तापक्षलाई भन्न चाहन्छु । यो उदासीन छ । किन भनेको भने अहिलेको सरकार आय स्रोत कसरी बढाउने ? त्यसमा प्रयास अगाडि बढाउने, प्रयासमा तीव्रता दिने, प्रयासलाई योजनाबद्ध ढंगले अघि बढाउने त्यस कुरामा ध्यान छैन । अझिंगर जस्तो छ । डम्म सुतेको छ । अगाडि केही आयो भने तानेर खाउँला भनेर बसेको छ । भन्सार राखिदिएको छ । त्यहाँबाट रकम असुल भयो भने, एयरपोर्टबाट भयो भने, भैरहवाबाट भयो भने, उताबाट भयो भने आएको बजेट भन्सारमा थापेको छ नि त्यस टोकरीमा आइलाग्यो भने स्वाप्प पार्ने । एउटा नीतिमा भनिएको छ । ’

अध्यक्ष ओलीले बजेटलाई सुतेर बसेको अझिंगरसँग तुलना समेत गरे । सुतेर बसेको अझिंगरले जस्तो बजेटमा भन्सारबाट आउँला र खाउँला भन्ने आशा मात्रै रहेको ओलीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *