प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिप्रति एमालेले संसदमा जवाफ माग गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहीत विपरीत अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।

शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिएका थिए ।

अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको विरोध भइरहेको छ । पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहीनका कुनै विषय उठान गर्न नसकेको बताए । उनले प्रधानमन्त्रीले भारत भ्रमणअघि संसदमा उठान गर्ने भनेका विषयहरू किन उठाउन नसकेको भन्ने प्रश्न गने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र भारत भ्रमण तीर्थाटन जस्तो भएको बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच भएको बताए ।

उनले भने, ‘बजेटका बारेमा भोलिबाट छलफल सुरु हुँदैछ । हाम्रो माननीय सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने ? भन्ने र बजेटमा के कमी छन्, कहाँ कमजोरी छन् भन्ने बारेमा अहिले मुलुकको अवस्थालाई बजेटले सम्बोधन हुन सकेको छ, छैन भन्ने बारेमा विज्ञहरूबाट धेरै प्रस्ट पार्नुभएको छ । त्यसमा हामीले अन्तरक्रियात्मक ढंगले छलफल पनि गरेका छौँ । पार्टीको अध्यक्ष, संसदीय दलको नेताले समग्र मुलुकको अहिलेको राजनीतिक अवस्था, बजेट वक्तव्य, अर्थतन्त्र, जनताको अपेक्षाका सन्दर्भमा बजेटले पार्न नसकेका विभिन्न पक्षहरूको बारेमा आफ्ना धारणा राख्नुभयो । प्रधानमन्त्रीले भारत भ्रमणमा देशको हितको पक्षमा बोल्न सक्नुभएन । हाम्रा मुलुकका सीमा समस्या, त्यस विषयलाई पनि उठाउन सक्नुभएन । इपीजी जुन थियो, त्यसका प्रतिवेदन बुझ्ने सवालमा जुन ढंगले विषय उठाउन सक्नुपर्दथ्यो, यी विषयहरू पनि उहाँले उठाउनु भएन । देशको हितको पक्षमा बोल्ने काम भएन । देशको स्वार्थको बारेमा बोल्नुपर्नेमा तीर्थाटनमा गएको हो की जस्तो देखियो । भ्रमण निराशाजनक छ । यहाँ जसरी प्रतिबद्धता जनाउनुभएको थियो, त्यसलाई ध्यान दिनुभएन । संसदमा हामी अब सीमा समस्या, इपीजीका बारेमा किन बोल्न सक्नुभएन । इपीजीको प्रतिवेदन बुझ्ने सवालमा किन उहाँले बोल्न सक्नुभएन ?हाम्रो सीमा समस्याका बारेमा किन बोल्न सक्नुभएन ? फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा त्यो बाटो दिए नेपालको भूमीसम्म दिन तयार छौँ भन्ने प्रकारको यस्तो गैर जिम्मेवार, राष्ट्रहीत विपरीत, राष्ट्रघातका कुराहरू किन त्यस्ता अभिव्यक्ति दिनुभयो । त्यसले देशको गरिमामा आँच आएको छ । सिंगो नेपाली जनताको शिर निहुरिएको छ । यी सबै विषय हामीले सघन ढंगले सदनमा उठाउँछौँ । प्रधानमन्त्रीसँग जवाफ माग्छौँ ।’

प्रमुख सचेतक गिरीले प्रमुख सचेतक गिरीले धरातलीय यथार्थलाई नबुझीकन बजेट ल्याइएको दाबी गरे । बजेट गन्तव्यहीन र प्रतिगमनतिर फर्काएर लैजाने किसिमको रहेको बताए ।

त्यस्तै उनले नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक कदम भएको र राष्ट्रपतिलाई असंवैधानिक काम गर्न मन्त्रीपरिषद्ले बाध्य पारेको भन्दै राष्ट्रपतिले ख्याल नगरी संसद् छलेर नागरिकता विधेयक ल्याएकोप्रति विरोध गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *