एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट कसैले गर्न सकेन : ओली (भिडिओ)

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको बताएका छन् ।

अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल: सुखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको जिकिर गरेका हुन् । पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउनका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको तर्क समेत गरे । ढिलो होइन, छिटो विकास गर्नका लागि आफूहरूले समृद्धिको एजेण्डालाई अघि बढाएको पनि अध्यक्ष ओलीको भनाई थियो ।

ओली भन्छन्, ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपाल: सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन । सुखी नेपाली भन्ने आँट गर्दैन । ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन । भन्न सक्दैन । समृद्ध नेपाल भनेको मैले भन्ने गरेको छु नि यो एउटा खरवपति र अर्को चाँही मजदुर उनीहरू दुई वटाको सम्पत्ति मिलाउँदाखेरी एउटाले वार्षिक ४० अर्व मुनाफा कमायो भने अर्कोले लसमा छ भने पनि २०÷२० अर्व कमाएको देखियो नि त । कमाएको एक जनाले मात्रै हो । एभरेजमा त्यस्तो देखिए पनि बढी त गरिब छ नि । त्यस कारण त्यो रियल डेटा होइन । हामीले गर्न खोजेको मानव विकास हो । समाजको विकास हो । र, सिंगै समाजलाई माथि उठाउने हो । र, मानव समाजलाई मानव बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकास । ढिलो होइन, छिटो विकास ।’

अध्यक्ष ओलीले गरिबी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरुरी रहेको समेत बताए । विकास, निर्माणको कामलाई अघि बढाउनका लागि पनि गरिबी अन्त्य हुन आवश्यक भएकाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले जोड दिएर काम गर्न आवश्यक रहेको पनि उनले स्पष्ट पारे । अध्यक्ष ओलीले सम्पूर्ण पपुलेशनलाई विकास, निर्माणको प्रक्रियामा सहभागी गराउन पनि नेपालले विज्ञान र प्रविधिको प्रयोगमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

उनले भने, ‘अव हामीले भोकमरीको अन्त्य गर्नु छ । र, गरिबी निवारण गर्नुछ । सबभन्दा फाष्ट डेभलपमेन्ट कसरी हुन्छ त भन्दा खेरी हाम्रो १७-१८ प्रतिशत पपुलेशन अझै पनि गरिबिको रेखामुनि छ । त्यस कारण त्यो पपुलेशन अहिले पनि डेभलपमेन्टको बारेमा सोच्दैन । पेटको बारेमा मात्रै सोच्छ । पेटको बारेमा सोच्नुपर्ने भएपछि ज्ञान, विज्ञान, प्रविधि र विकासको बारेमा सोच्न थाल्दछ । त्यस कारण रूपान्तरणका लागि टेक्नोलोजी । साईन्सलाई प्रविधिमा कसरी रूपान्तरण गर्ने भन्ने हो । त्यस कारण हामी गरिबीबाट मुक्त हुनु, भोकमरीबाट मुक्त हुनु एकदमै जरुरी छ । र, सिंगै पपुलेशनलाई गर्न जरुरी छ । हामी यो साइन्स एण्ड टेक्नोलोजीको बारेमा किन चर्चा गरिरहेका छौँ ? सबै खालको विकासका लागि यसको जरुरी छ । यो पनि छिटो गरिबी अन्त्य गरौ । र, सम्पूर्ण पपुलेशनलाई अगाडि बढाऔँ भनेर ।’

अध्यक्ष ओलीले कृषि उत्पादनलाई स्वस्थ बनाउने कुरामा पनि प्रविधिलाई उपयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =