यस्तो छ प्रधानमन्त्री प्रचण्डको आजको तालिका

काठमाडौँ । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज तेस्रो दिन मध्यप्रदेशको उज्जैनमा १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने महाकालेश्वरको पूजाअर्चना गर्दैछन् । नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घण्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।

यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारी मात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ । आजै प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्ने कार्यक्रम छ । यसअघि हिजो प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । हिजै उनले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका थिए । केही परियोजनाको उद्घाटन समेत गरेका थिए । प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका थिए ।

हिजै नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गरेका थिए । भ्रमणको पहिलो दिन बुधबार प्रधानमन्त्री प्रचण्डसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेट गरेका थिए । नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएका प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीलाई सम्बोधन गरेका थिए । भ्रमणको चौंथो दिन भोलि (शनिबार) ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता हुने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =