उखु किसानको पिडा : खाना खाने पैसाको अभाव हुन लागिसक्यो, सरकारले छिटो कुरा सुनोस् (तस्बिरसहित)

काठमाडौँ । कपिलवस्तु किसान मजदुर सङ्घ तथा उखु किसान सङ्घर्ष समितिका अध्यक्ष कृषि मन्त्रालय जाँदा, उद्योग मन्त्रालय जान निर्देशन पाउँछन्, फेरि यो त आर्थिक विषय हो, अर्थ मन्त्रालय जान भन्छन् तर कुरा उही- भन्छन्, यो त कृषि मन्त्रालयमै जानु भनेर पठाउँछन् ।
जेठ १ गते आएको उनी सहितको ३१ जना को टोली को दिनचर्या त्यसरी नै बित्ने गरेको छ । आजको दिन सम्म तेहि धाएरै मात्र गयो, काम केही पनि हुन सकेन भनेर माइतीघरमा बसेर गुनासो सुनाउँदै थिए ।
उनीहरू गौशाला बस्छन् , अनुपलाई भेट्न पनि बिहानै टोली माइतीघर आएको बेलामा मात्र भेट्न पाइन्छ नत्र उनको काम बिहान गौशालाबाट आएर अरू उखु किसानहरूलाई माइतीघर मै शान्तिपूर्ण धर्ना दिन बस्न भनेर फिल्डमा जाने गर्छन् ।
काम नभएको बेला उनी पनि आएर बस्ने गर्छन् । अनुप भन्छन् ‘हामी आएर आन्दोलन गरेको नि १२ दिन भइसक्यो बस्न खान खर्च बढेको बढै छ, काम गर्न निस्किदा एउटा मन्त्रालय देखि अर्को मन्त्रालय धाउँदै दिन बित्छ । हाम्रो पिडा कसले सुनिदिने खै सरकार नजिकै छ भनेर प्रदेश सरकार जाँदा कुरा नै नसुनिइदिने भएर राजधानी आएर नि तेहि हुने भयो’ भनेर बताउँछन् । यसरी उखु किसानहरू वर्षेनि काठमाडौँ आएर विभिन्न मागहरू उठाउँदै आउने गर्छन् ।
कपिलवस्तुबाट आएको उखु किसानहरूको माग नि उस्तै नै हो, आव ०७१ र ०७२ मा नेपाल सरकारले रु.२५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेतापनि हाल सम्म नपाइएको अनुदान रकम अविलम्ब ब्याज सहित असुल उपर गराई दोषी माथि कारबाही गरियोस् भन्ने माग लगायत , विभिन्न समयमा सरकारले तोकेको रकम भन्दा चिनी मिलहरूले कम मूल्यमा उखु खरिद गरेको हुनाले काटिएको रकम समेत उपलब्ध गराउन र ट्याक्टर खरिद गर्दा सहुलियत दरमा भन्सार गराई कृषकले स्वयं ल्याउन पाउने गरी व्यवस्था मिलाइयोस् भन्ने जस्ता यस्तै मागहरू लिएर कपिलवस्तुका किसानहरू माइतीघर को सडकमा बसिरहेका छन् ।
उनीहरू माग पुरा नहुन्जेल राजधानी नछाड्ने अठोट लिएर बसेका छन्। तर आएका किसानहरू भन्छन् ‘बिहान साझको खानाले पैसाको अभाव हुन लागिरहँदा मन्त्रालय मात्र धाउने काम भयो, छिटो भन्दा छिटो हाम्रो कुरा सुनोस् सरकारले ।’









