गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् ।
बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ नामक तस्बिर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी हुन् ।
उनले लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रता समेत नभएको उल्लेख गर्दै उनले गणतन्त्रको विकल्पमा पुनः पछाडी फर्कन नसकिने स्पष्ट पारिन् । उनले विभिन्न भ्रष्टाचारको विषयहरु उठाएर गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको भन्दै ति समस्याहरुको समाधान पनि गणतन्त्र भित्रै सम्भव भएको बताइन् ।
उनले भनिन् ‘राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा पनि गणतन्त्रबाट सम्भव भएको हो । यदी गणतन्त्र, लोकतन्त्र हुन्नथ्यो, हामीलाई यसरी बोल्ने स्वतन्त्रता हुँदैनथ्यो भने हाम्रा शासक, सत्ता सञ्चालकहरुले गरेका कमजोरी र गल्तीलाई पनि हामी बाहिर बोल्न सक्दैनथ्यौ होला । त्यसकारणले यहाँ भएका समस्याहरुलाई सुधार गर्ने भनेको पनि गणतन्त्रले नै हो । लोकतन्त्रले नै हो । गणतन्त्र, लोकतन्त्रको विकल्प फेरि पश्चगमन हुन सक्दैन । पछाडी फर्कने कुरा हुन सक्दैन । अहिले आउँदाखेरी यस्तो भयो, यत्रा भ्रष्टाचारका कुराहरु आए, दुनियाँभरी भएका छन् । यो भन्दा त हिजोकै राजतन्त्र ठिक नि भन्ने खालका प्रश्न पनि तपाई हाम्रा बीचमा उठ्ने गरेका छन् । मान्छेहरुले उठाउने गरेका छन् । तर विषय त्यस्तो होइन । के हो भने, यसको विकल्प, समाधान त्यो होइन । गणतन्त्रको समाधान गणतन्त्र भित्रै सम्भव छ । लोकतन्त्र भित्र भएको समस्याको समाधान लोकतन्त्र भित्रै सम्भव छ । बाहिर गएर यो समस्याको समाधान सम्भव छैन ।’
उनले सरकार सञ्चालनमा भएका त्रुटीहरुलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने बताए । उनले गणतन्त्रले दलित, महिला लगायतका उत्पीडित समुदायहरुलाई राजनीतिको शीर्ष तहमा लगेको भन्दै व्यक्तिले गरेको गल्तीलाई प्रणालीसँग जोड्न नमिल्ने बताइन् । उनले राज्यको माथिल्लो तहमा पुगको कोही व्यक्ति बिग्रिएमा गणतन्त्रको दोष नभएको बताइन् ।








