रवि लामिछानेको सांसद पद खारेज गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालत प्रशासनले दरपिठ गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश भएको छ।
आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै साेमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो । गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको थियो।
सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट पुनः दर्ताका लागि युवराज पौडेल ‘सफल’ ले यही जेठ २ मा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको हो।
सफलले लामिछाने सांसद हुन अझै अयोग्य रहेको रिटमा जिकिर गरेका छन्। लामिछानेले पुनः नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरी नागरिकता लिएको र त्यही आधारमा उपनिर्वाचनबाट निर्वाचित भएको उनको जिकिर छ।
यसअघि, लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले गत माघ १३ गते सांसद पद खारेज गरेको थियो । उक्त रिट दर्ता गराएका सफलले नै फेरि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट लगेका हुन्।








