ओलीलाई नेपालको प्रश्न : बनिसकेको सरकार आफ्नो हातबाट कसरी फुत्कियो ?

काठमाडौँ । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताए । आइतबार ओलीले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम स्वीकार गर्न नसकिने अडानसहितको धारणा राख्नु भएको थियो । सोमबार (आज) अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरूलाई खोच पेज हुने गरी आएको भन्दै आलोचना गरे ।

उनले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरूलाई दोष नदिन ओलीलाई सचेत गराए । अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरूलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्वीकार नगरेको आरोप समेत लगाए ।

ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको पनि उनले दोहो¥याए । अध्यक्ष नेपालले भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए ।

उनले भने, ‘यो देशलाई बनाउन सकिन्छ । त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यकता छ । एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन । त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन, त्यसको पछाडि पनि अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरूलाई सत्तोसराप गरेर पनि हुँदैन । त्यसो हुनाले सबभन्दा ठूलो समस्या के छ भने आफू भित्र के कमीकमजोरी रहेँ । त्यसको हामी सबैले समीक्षा गराैं। कमीकमजोरी भएका छन् भने ती कमीकमजोरीको पहिचान गरौँ । त्यसलाई सुधार गरौँ । अहिले म समस्या देखिराखेको छु । हामी कहाँ सबभन्दा ठूलो समस्या यो व्यक्तिवादको रोग हो । र, दोस्रो भनेको आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो । अनि, तेस्रो अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । अरूको ज्ञान, अरूको बुद्धि र सबैको साथ लिने भन्दा पनि अनि आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो । यसबाट मुक्त हुन सकिएन भने, यो व्यक्तिवादको रोगबाट मुक्त हुन सकिएन भने अनि भ्रष्टाचारबाट चुर्लुम्म डुब्ने प्रवृत्तिबाट मुक्त भइएन भने, कुरा एउटा, काम अर्को । हाम्रो के छ भने ठूल्ठूला उपदेशहरू छाँट्ने प्रवृत्ति जाँदा छ । तर व्यवहारमा लागू गर्ने प्रवृत्ति कम छ । साँचो अर्थमा हामीमा इमानदारिता छ भने कुनै पनि समस्याको समाधान गर्न सकिन्छ । म सभामुखजीमार्फत प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु–तपाई इमानदारिताका साथ अगाडि बढोस् । लगनशीलताका साथ अगाडि बढोस् । र, यो भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्नु होस । स्वच्छ सरकार यो देशलाई प्रदान गर्नुहोस् । गतिशील सरकार यो देशलाई प्रदान गर्नुहोस् । र, काममा इमानदारसाथ खटनेहरु र काम ठगहरू अनि सत्ताको दुरुपयोग गर्न खोज्नेहरू को–को हुनु, त्यसको पहिचान गरेर खराब तत्त्वहरूलाई दण्डित गर्नुहोस् । असलहरूलाई प्रोत्साहित गर्ने काम गर्नुहोस् । ’

अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =