२ महिनामै पूर्व मुख्यमन्त्री अधिकारीले बाँडे डेढ करोड उपचार सहायता (विवरण)

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले उपचार खर्चको नाममा विभिन्न व्यक्तिहरूलाई झण्डै डेढ करोड वितरण गरेका छन् । १ सय ५ दिन सरकारको नेतृत्व गरेका उनले चैत १३ गते ५० लाख ७५ हजार वितरण गरेका छन् भने वैशाख ८ गते ९४ लाख वितरण गरेका हुन् ।

अधिकारीले २ महिनाकै अवधिमा करिब डेढ करोड वितरण गरेका हुन् । आर्थिक सहायता सम्बन्धी कार्यविधि अनुसार पहिलो चरणमा ६३ जना र पछि ९९ जनालाई ५० हजारदेखि १ लाखसम्म आर्थिक सहयोग गरेको बताएका छन् । मुटु रोग, क्यान्सर, मिर्गौला, मेरुदण्डको समस्या लगायत विभिन्न समस्याका कारण उपचार गराइरहेका बिरामीले दिएको निवेदनको आधारमा आर्थिक सहायता दिइएको बताइएको छ ।

आर्थिक सहायता कार्यविधि अनुसार १ लाखसम्म मुख्यमन्त्रीको ठाडो तोकादेश र त्यसमाथिको सहायता दिनुपरे मन्त्रीपरिषद् बैठकले निर्णय गर्न सक्ने व्यवस्था छ । आर्थिक सहायता माग भएका निवेदकको रेकी समेत नगरी मनपरी रकम बाँडेको भन्दै पटक पटक मुख्यमन्त्रीहरूको आलोचना हुँदै आएको छ ।

  • क-कसलाई दिइयो पैसा ? हेर्नुहोस् विवरण :-

उपचार खर्च लिनेमा राजनीतिक दलका कार्यकर्तादेखि पहुँचवालाका आफन्तहरू समेत छन् । ‘दुखमा परेका नागरिकलाई सहयोग गर्नु राज्यको दायित्व हो । तर कतिपय सहयोगहरू आसेपासेले पाएका छन्, नक्कली विवरण बनाएर,’ स्रोतले भन्यो, ‘सहायता दिँदा रेकी गरेर, अनुगमन गरेर दिनुपर्छ ।’ अधिकांशलाई १ लाख र १ जनालाई ७५ हजार तथा केहीलाई ५० हजारका दरले सहायता दिइएको छ ।

यसबाहेक २५ हजारका दरले अर्को किस्ता सहायता पनि वितरण गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । उक्त रकम वितरणका लागि एकमुस्ट निर्णय गरे पुग्छ । मुख्यमन्त्री कार्यालयका अनुसार अव उपचार खर्च दिने स्रोत बाँकी छैन ।

यसअघि नै निवेदन संकलन गरेर तोकादेश लगाइएको रकम पनि तिर्न बाँकी छ । ‘कोही गम्भीर अवस्थामा परेर सहयोग माग्न आए दिने रकम छैन । सबै खाली भइसक्यो,’ एक कर्मचारीले भने, ‘तोक लगाइएकाहरूले पनि दिनदिनै फोन गरेर रकम पठाइदिन आग्रह गर्छन् । हामीसँगै पैसा छैन ।’

निर्णय :-

यसअघिका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पृथ्वीसुब्बा गुरुङले पनि उसैगरी उपचार खर्च र संस्थागत सहयोगका नाममा करोडौँ रकम निकासा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *