नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ : मन्त्री ज्वाला

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरू समावेश रहेको बताएका छन् । शनिबार समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला शाखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर काममा लागेको बताए । उनले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रुपमा समर्थन गर्ने उल्लेख गरे ।

उनले भने, ‘यो गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर लाग्नका लागि हाम्रो तर्फबाट प्रयत्न भएको छ । संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ, त्यसमा पनि केही जनपक्षीय कार्यक्रमहरु प्रस्तुत गरेका छौँ । जनतालाई सम्बोधन हुने खालका नीतिहरु हामीले सम्बोधन गरेका छौँ । यो नीति कार्यक्रमलाई बजेटले पूर्ण गर्नेछ । यसको ग्राउण्ड भनेको गठबन्धन सरकारको न्यूनतम् साझा कार्यक्रम हो ।’

उनले गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताए । उनले पछिल्ला समस्यालाई समाधान गर्ने, अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवासुविधालाई ध्यानमा राखेर काम गर्नेगरी बजेट ल्याउने तयारी रहेको बताए ।

उनले भने, ‘नीति कार्यक्रमलाई केन्द्रित बनाएर बजेट ल्याउने तयारीमा छौँ । बजेटले पछिल्ला समस्यालाई समाधान गर्नेगरी आर्थिक समस्या,अन्य समस्याहरुलाई समाधान गर्ने गरी अर्थतन्त्रमा नयाँ मोड ल्याउने र अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवासुविधालाई ध्यानमा राखेर काम गर्ने र भ्रष्टाचारका काण्डहरु आएका छन्, त्यसको छानबिन गर्ने र कुनै राजनीतिक आग्रह, पूर्वाग्रह बिना दोषी नछुट्ने, निर्दोष नफस्ने गरी अघि बढेका छौँ ।’

मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह, पूर्वाग्रह बिना अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =