गोरखकाली रबर उद्योग फेरि चर्चामा, उद्योगको अवस्था कस्तो छ ? (तस्बिरमा हेर्नुस्)

पोखरा । सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने छैटौँ पटक उद्घोष गरेको छ । नीति तथा कार्यक्रम मार्फत बर्सेनि गोरखकाली रबर उद्योग सञ्चालन गर्ने घोषणा गर्दै आएको सरकारले उद्योग सञ्चालनका लागि कुनै चासो भने देखाउँदैन ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरू सञ्चालन, खारेजी र एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो ।

‘पुन सञ्चालनको सम्भावना रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने छ’, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यक्रम प्रस्तुत गर्दै घोषणा गरेका छन्, ‘निजी क्षेत्रको सहकार्यमा औद्योगिक ग्राम सञ्चालन गरिनेछ ।’

तर सरकारले सोचेझैँ रबर उद्योग सञ्चालन सहज छैन । केही समयअघि चिनियाँ टोलीले उद्योग सञ्चालनका लागि चासो देखाएर निरीक्षण गरेका छन् । चिनियाँ टोलीले पटक पटक अध्ययन गरिरहेको छ । तर सञ्चालनका लागि निकै मुस्किल देखिएको छ । पछिल्लो पटक मंसिर १४ गते चिनियाँ व्यवसायीहरूको टोलीले उद्योगको अवलोकन गरेका छन् ।

उक्त उद्योग चिनियाँ कम्पनीले नै स्थापित गरेको थियो । अहिले उद्योगमा रहेका मेशिनरी सामग्रीहरू ‘आउट डेटेड’ भैसकेका छन् । उद्योग लामो समयदेखि बन्द रहे पनि गत २०७१ चैत २१ गतेबाट पूर्ण रूपमा बन्द भएको थियो । त्यसयताको हरेक चुनावमा उद्योग सञ्चालन गर्ने एजेन्डा नेताहरूको घोषणापत्रमा पर्दै आएको छ । गण्डकी प्रदेश सरकारले पनि पटक पटक उद्योग पुनः सञ्चालनको चासो देखाएको थियो । काम भने अघि बढेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *