पूर्णता पाउँदै सुदूरपश्चिम सरकार, को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहान पत्रकार सम्मेलन गर्दै आज प्रदेश सरकार विस्तार हुने बताएका हुन् ।

सहमतिअनुसार माओवादी केन्द्रबाट तीन मन्त्रीले शपथ लिनेछन् । झपट साउँद, रमेश धामी र गीता मालको नाम टुङ्गिएको छ । धामी र साउँद मन्त्री हुने छन् भने माल राज्यमन्त्री हुने छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा परेको छ । तर, सामाजिक विकास मन्त्रालयमा माओवादी र नागरिक उन्मुक्ति पार्टीको दाबी छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय भने नागरिक उन्मुक्तिको भागमा परेको छ । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीको सूचिमा परेका रामेश्वर चौधरीले अझै मन्त्रालयको ठेगान नभएको बताए । उनले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिको दाबी रहेको बताए । मन्त्रालयको भागबण्डा अझै नटुङ्गिएको दाबी उनको छ ।

तर, मुख्यमन्त्री शाहले भने नागरिक उन्मुक्ति पार्टीका मन्त्रीले पनि आज शपथ खाने दाबी गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीका कांग्रेसका दलका नेता शाहले शपथ खाएको एक सय दिनपछि प्रदेश सरकार विस्तार हुने भएको हो । यसअघि कांग्रेसका प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास तथा एकीकृत समाजवादीबाट नरेशकुमार शाह आर्थिक मामिला मन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *