अन्नपूर्ण हिमालको बेसक्याम्पमा म्याराथन प्रतियोगिता हुने

पोखरा । प्रथम पटक मानवले पाइला टेकेको हिमाल अन्नपूर्ण प्रथममा म्याराथन हुने भएको छ । अन्नपूर्ण दिवसका दिन सेन्चुरी पर्यटन समितिले म्याराथन सहित महोत्सव गर्न लागेको हो । जेठ २० गते (जुन ३) अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२.१९५ किमी) को म्याराथन आयोजना हुने महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिए ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ का रुपमा मनाइन्छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद १ लाख ५० हजार रुपैयाँ, द्वितीय हुनेले १ लाख रुपैयाँ र तृतीय हुनेले ७५ हजार रुपैयाँ पाउने छन् । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कोभिड–१९ का कारण २ संस्करण स्थगित भए पनि समितिले यस पटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको उनले सुनाए । ‘कोभिडपछि पर्यटकीय क्षेत्र ध्वंस भएको छ । पर्यटक आउन छोडेका छन्,’ उनले भने, ‘यो महोत्सवले घान्द्रुकमा पर्यटनको संकट मोचन हुने अपेक्षा गरेका छौं ।’ महोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, पत्रकारिता पुरस्कार वितरण, हर्स राइडिङलगायत विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *